राजनीति

राष्ट्रिय विकास समस्या समाधान समिति बैठक

करका दरमा एकरूपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी

इकागज |
चैत १५, २०८० बिहीबार २०:५६ बजे

काठमाडौँ- सरकारले करको दरमा एकरूपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ । प्रदेशहरूमा करको दरमा एकरूपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो । 

राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता यमलाल भुसालले सबै प्रदेशमा करको दरमा एकरूपता ल्याउन अध्ययन गरिने जानकारी दिए । विकास समस्या समाधान समितिको बैठकले सवारी करमा एकरूपता ल्याउनका लागि छलफल गरेर उपयुक्त समाधानका उपाय खोजिने निर्णय भएको उनको भनाइ छ ।


'नेपालको संविधानले नै स्पष्ट कानुनी प्रबन्ध गरेको छ । प्रदेशले आवश्यक कानुन तर्जुमा गरी कार्यान्वयन गरिरहेको छ । प्रदेशले कानुन बनाउँदा प्रदेशअनुसार फरक फरक सवारी कर कायम भएको छ । सो बारेमा छलफल भइरहेको र एकरूपता कायम गर्नुपर्ने आवश्यकता देखिएको छ,' प्रवक्ता भुसालले भने । 

यसैगरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि कर्जा सूचना व्यवस्थापन केन्द्रलाई प्रभावकारी बनाउनेबारे आजको बैठकमा छलफल भएको उनको भनाइ छ । ‘एक स्थानीय तहमा एक आधारभूत अस्पताल’ निर्माणको कामलाई थप गति दिने विषयमा समेत विकास समस्या समाधान समितिको बैठकमा आवश्यक छलफल भएको छ । त्यसमा देखिएको समस्या समाधान गरिनेछ ।

विकास निर्माणका काममा भएका समस्या पहिचान गरी उपयुक्त समाधान गर्ने र तोकिएको समयमै सम्पन्न गर्न समेत स्पष्ट मार्गनिर्देशन प्राप्त भएको उनको कथन छ । प्रधानमन्त्रीको अध्यक्षमा बस्ने विकास समस्या समाधान समितिको बैठक वर्षमा दुई पटक बस्ने व्यवस्था छ ।


Author

थप समाचार
x