राजनीति

जसपा विवाद

कार्यकारिणी समितिमा ठाकुरको फेरबदल आयोगले नमान्‍ने

अल्पमतमा परेपछि आफ्‍नो समूहका १६ नेता थप

मधुसुधन भट्टराई |
असार २, २०७८ बुधबार २०:२० बजे

काठमाडौँ : समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले फेरबदल गरेको कार्यकारिणी समितिलाई निर्वाचन आयोगले मान्यता नदिने भएको छ । ठाकुर समूहले मंगलबार मात्रै ५१ सदस्यीय कार्यकारिणी समितिमा अर्का अध्यक्ष उपेन्द्र यादवसहित ६ जनालाई हटाएर १६ जनालाई थपेको जानकारी निर्वाचन आयोगमा दिएको थियो । 

आयोग स्रोतका अनुसार ठाकुरले अध्यक्ष यादवसहित महन्द्र राययादव, गजाधर यादव, रमेश यादव, मृगेन्द्रसिंह यादव, रामनरेश राययादव र नवलकिशोर यादवलाई कारबाही गरेका छन् । भने आफू पक्षका नेताहरू डा.सुरेन्द्र झा, डा. विजयकुमार सिंह, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मियाँ, सन्तोष मेहता, परमेश्वर साह, सुरेश मण्डल, राजीव झा, सर्वजित यादवसहित १६ जनालाई कार्यकारिणी समितिमा थपेका छन् । 


ठाकुरले अर्का अध्यक्ष यादवसहित ६ जनालाई हटाएर १६ जनालाई जेठ दोस्रो साता थपे पनि एक असारमा निर्वाचन आयोगलाई कार्यकारिणी समितिमा फेरबदल गरेको पत्र पठाएपछि मात्रै यो विषय बाहिर आएको हो । तर, ठाकुर समूहले फेरबदल गरेर पठाएको कार्यकारिणी समितिले मान्यता नपाउने आयोगले बताएको छ ।

एक आयुक्तले इकागजसँग भने,‘ हामीले आइतबार मात्रै अनुशासनको कारबाही गरेर अद्यावधिक गर्न पठाएको पत्र खारेज गर्दै पुरानै ५१ सदस्यीय समितिलाई मान्यता दिने निर्णय गरेका छौं । त्यसको दुई दिनपछि मात्रै फेरि एउटा समूहले मात्रै फेरबदल गरेर पठाएको समितिलाई मान्यता दिने कुरा हुँदैन ।’

उनले कार्यकारिणी समितिमा फेरबदल गर्नका लागि आयोगको रेकर्डमा रहेका दुई अध्यक्षको हस्ताक्षरमा सर्वसम्मत निर्णय भएको पत्र आउनुपर्छ । ‘दुई अध्यक्षको हस्ताक्षरमा सर्वसम्मत निर्णय भएर पत्र आयो भने मात्रै फेरबदल हुन्छ । अन्यथा आयोगले आइतबार गरेको जस्तै पुरानै समितिलाई मान्यता दिइन्छ,’ ति आयुक्तले भने ।  
सत्ता समीकरणबारे जसपामा देखिएको विवाद चरमोत्कर्षमा छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा प्रतिनिधि सभा विघटन गरेपछि समर्थन गर्ने कि विरोध गर्ने भन्नेमा जसपा विवाद चरमोत्कर्षमा पुगेको हो । संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष यादव समूहले विघटनको विरोध गर्दै नेपाली कांग्रेस, माओवादी, एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनमा लागेको छ । अध्यक्ष ठाकुर समूह भने विघटनको समर्थन गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको छ । 

यही विषयमा विवाद भएपछि जेठ १८ गते अध्यक्ष यादवले अध्यक्ष ठाकुर, नेता महतोसहित कार्यकारिणी समिति सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेर अद्यावधिक गर्न निर्वाचन आयोगलाई पत्र लेखेका थिए । त्यसलगत्तै अध्यक्ष ठाकुरले पनि अध्यक्ष यादवलाई अनुशासनको कारबाही गरेर अध्यावधिक गर्ने आयोगमा पत्र पठाएका थिए । 

आयोगले दुवै पत्र खारेज गर्दै पुरानै ५१ सदस्यलाई मान्यता दिने निर्णय आइतबार गरेको थियो । यो फेरबदलमा पनि त्यही निर्णय हुने ती आयुक्तले बताए । ठाकुरले कार्यकारिणी समितिमा थपेका मियाँ युवा तथा खेलकुद, अरगरिया सस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रीवास्तव श्रम रोजगार तथा सामाजिक विकासमन्त्री हुन् भने मेहता उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री रहेका महतोका स्वकीय सचिव हुन् ।

यता कारबाही गरिएका राययादव तत्कालीन राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यसमेत हुन् । नवनियुक्त कार्यकारिणी समिति सदस्य मेहताले कार्यकारिणी समितिमा फेरवदल गरेको आफूले जानकारी पाएको बताए । ‘केही सदस्य फेरवदल भएको जानकारी पाएको छु । तर, कति हो एकिन जानकारी छैन । म उपप्रधानमन्त्रीसँग भएकाले पाटीबारे बुझ्न पाएको छैन,’ उनले भने । 

जसपाको कार्यकारिणी समितिमा यादव समूहको बहुमत छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा ३१ सदस्य यादवका छन् । जतिगर्दा पनि आफूले बहुमत पुर्‍याउन नसक्ने भएपछि ठाकुरले फेरबदलको रणनीति अख्तियार रहेका हुन् । यो रणनीति अख्तियार गर्दा ठाकुरले आफूलाई फेरबदलको जिम्मेबारी दिइएको तर्क पनि अघि सारेका छन् । 

फेरबदल गरेको पत्र दर्ता भएको छ : आयोग

ठाकुर समूहले त्यो जानकारी मंगलबार निर्वाचन आयोगले गराइसकेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले कार्यकारिणी समिति फेरबदल गरेको निवेदन निर्वाचन आयोगमा दर्ता भएको जानकारी दिए । ‘कार्यसमिति फेरवदल गरेको निवेदन आयोगमा दर्ता भएको जानकारी आएको छ । तर, के कति हो त्यो मसम्म आइपुगेको छैन,’ प्रमुख आयुक्त थपलियाले बुधबार इकागजसँग भने । 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x