राजनीति

सभापतिमा उम्मेद्‍वारीबारे देउवाको छलफल

नेताहरूको सुझाव : टिमलाई एकढिक्का बनाएर अगाडि बढ्नुस्

इकागज |
असार ६, २०७८ आइतबार १३:५२ बजे

फाइल तस्बिर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पहिलादेखिको आफ्नो टिम एकढिक्का बनाएर अगाडि बढ्न उनी पक्षीय नेताहरूले सुझाएका छन् । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा बागमती र गण्डकी प्रदेशका नेताहरूसँग देउवाले आज उनकै निवास बुढानीलकण्ठमा गरेको छलफलमा टिमलाई एकढिक्का बनाएर अघि बढ्न सुझाएका हुन् ।
 
छलफलमा सहभागी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले सभापतिलाई टिमलाई एकढिक्का बनाएर अगाडि बढ्न सुझाएको जानकारी दिइन् । ‘धेरै साथीहरूले सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवालाई एकमतले समर्थन गर्नु भयो । तर, टिमलाई एक ढिक्का बनाएर अघि बढ्न सबैको सुझाव थियो,’ उपाध्यायले इकागजसँग भनिन्, ‘सभापतिले आफूले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न एक पटकलाई सभापतिमा समर्थन र सहयोग गर्नु आग्रह गर्नुभयो । 

शुक्रबार केन्द्रीय कार्यसमिति बैठकबाट आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशनको मिति कार्यतालिकासहित निर्धारण गरेपछि देउवाले आफूपक्षीय नेताहरूसँग प्रदेशवाइज छलफल गरिरहेका छन् । शनिबार प्रदेश-१ र प्रदेश-२ का आफू पक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । 


शनिबारको छलफलमा उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दाबी गर्दै सहयोग गर्न देउवालाई आग्रह गरेका थिए । त्यही विषयमा आजको छलफलमा नेताहरूले कुरा उठाउँदै समूहलाई एकढिक्का बनाएर अघि बढ्न सुझाएका हुन् । 

‘सभापतिमा तपाई निर्विकल्प उम्मेदवार हो । तर निर्वाचनमा हाम्रो टिम सबैलाई मिलाएर अघि बढ्नुपर्छ,’ नेताहरूको सुझावबारे छलफलमा सहभागी केन्द्रीय सदस्य मोहन बस्नेतले भने, ‘विमलेन्द्र निधिले पनि सभापतिमा दाबेदारी प्रस्तुत गरेको कुरा बाहिर आएको छ । उहाँलाई जसरी भए पनि मिलाउनु पर्छ । कुन ठाउँमा ‘यडजस्ट’ गर्ने हो । त्यो पहिल्यै एकिन गर्नुस् । मिलेर सभापतिमा उम्मेदवार बन्नुपर्छ भन्ने नेताहरूको सुझाव थियो ।’

देउवाले भने निधिले सभापतिमा आफू उठ्ने भन्दै सहयोग मागेको स्वीकारे । तर आफूले भने यो पटक मलाई सहयोग गर्नुस्, अर्को पटक तपाईंलाई गरौंला भनेको जानकारी गराए । 

राप्रपाबाट कांग्रेस प्रवेश गरेका केन्द्रीय सदस्यहरूले पनि देउवाले टिमलाई मिलाएर अगाडि बढ्नु पर्ने र आफूहरू साथ दिन तयार रहेको बताएका थिए । अबको राजनीति ‘कोलिसन’बाट अगाडि बढाउनु पर्ने बाध्यता रहेको र त्यसका लागि उपयुक्र पात्र देउवामात्रै रहेको पनि नेताहरूको भनाइ थियो । 

‘राजनीतिमा पनि ‘कोलिसन’ बाट जान पर्ने परिस्थिति सृजना भइसकेको छ । तपाई हिजो पनि ‘कोलिसन सरकार’ चलाएर आउनु भएको हो । अब पनि त्यसको नेतृत्व तपाईंले गर्न सक्नुहुन्छ,’ नेताहरूको भनाइ उध्रित गर्दै सदस्य बस्नेतले भने । 

छलफलमा बागमती र गण्डकीका गरी १४ नेताहरू सहभागी थिए । बैठकमा सहमहामन्त्री प्रकाशशरण महत, उपाध्याय, बस्नेत, अम्बिका बस्नेत, शिवप्रसाद हुमागाईं, सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, ध्रुव वाग्ले, शंकर भण्डारी, विष्णुविक्रम थापा, किरण गिरीलगायतका नेता सहभागी थिए । 
 


Author

थप समाचार
x