राजनीति

एमाले कार्यदलको अबको काम

सहमतिका बुँदा कोर्ने, सार्वजनिक गर्ने र शीर्ष नेतालाई बुझाउने

इकागज |
असार २५, २०७८ शुक्रबार २०:५७ बजे

काठमाडौँ : नेकपा एमालेमा रहेको अन्तरकलह मिलाउन गठित कार्यदलमा सहमति भएको बताइएको छ । केही दिन यता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदामा सहमति बनाएको हो ।

कार्यदलको बैठक शुक्रवार दिनभरी अर्थ मन्त्रालयमा बसेको थियो । वैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदिप ज्ञवाली र गोकर्ण बिष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको जानकारी दिए । सहमति भएको विषयमा भाषा मिलाएर शनिबारको बैठकबाट सार्वजनिक गरिने पनि बताए ।


सहमतिका बुँदाका विषयमा शुक्रबार रातिसम्ममा सहमति हुने कार्यदल सदस्यसमेत रघुजी पन्तले जानकारी दिएका छन् । कार्यदलमा छलफल सकारात्मक ढंगले अगाडी बढेको भन्दै आजै रातिसम्ममा सहमति हुनसक्ने उनले दाबी गरे ।

उनले भने,‘मस्यौदामा छलफल गर्‍यौँ । मस्यौदामा हामीलाई लागेका सुझावहरु दियौँ । छलफल सकारात्मक ढंगले भएको छ । हाम्रो सुझावहरुलाई त्यसमा सामेल गरेर सम्भव भएसम्म आजै त्यसलाई पूर्णतामा पुर्‍याउने प्रयत्न छ । पार्टी एकतालाई कसरी प्रभावकारी ढंगले अगाडी बढाउन सकिन्छ भन्ने केही बुँदाहरुमा हामीले आफ्ना धारणाहरुलाई सहमतीका साथ बनाउने प्रयत्न गरेका छौँ । साथीहरुले राखेका भावना, धारणा र विचारहरुलाई पनि राखेर त्यसलाई पूर्ण बनाउने प्रयत्न भएको छ । सम्भव भएसम्म हामी आज नै त्यसलाई सकौँ भन्ने प्रयत्नमा छौँ । छलफल चलिरहेको छ । त्यसलाई फाइनल रुप दिने प्रयास भइरहेको छ ।’

कार्यदलको बैठक सोमबारदेखि निरन्तर बसिरहेको छ । नेताहरुले हरेक दिन सहमतीको नजिक पुगेको र एमाले एकता हुने दाबी गर्दै आएका छन् । जेठ २ गते गठन भएको कार्यदलले गएको  सोमवारदेखि छलफल शुरु गरेको थियो । भोलि बस्ने कार्यदलको बैठकमा सहमतिको खाका बनाइ भोलि नै शीर्ष नेतालाई बुझाउने कार्यदलको तयारी छ । 


Author

थप समाचार
x