राजनीति

नेकपा सचिवालय बैठक आज :

राष्ट्रपतिको तारन्तारले होला त ओली-दाहालको विवाद समाधान ?

इकागज |
मंसिर २०, २०७७ शनिबार ११:१० बजे

फाइल तस्बिर

काठमाडौं : सत्तारुढ नेकपा सचिवालयको बैठक आज बस्दै छ । शनिबार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्दै छ । गत मंगलबार बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । नेकपामा पत्रयुध्दको समाधान अझै निस्किएको छैन् । बैठकमा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको पत्रबारे छलफल हुने बताइएको छ ।

अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचको पत्रयुध्दले नेकपाभित्र त विवादको समाधान गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय छन् । मंगलबार बैठकमा ओली नगएपछि विवाद मिलाउनका लागि बिहीबार बिहान ओली र साँझ दाहाललाई बोलाएर छुट्टाछुट्टै छलफल गरेकी थिइन् । 


बिहीबार बिहान ओली र राष्ट्रपति भण्डारीबीच करिब दुई घण्टा छलफल भएको थियो । पार्टीभित्रको किचलो मिलाउन शीतलनिवासलाई समेत उपयोगमा ल्याएका प्रधानमन्त्रीले यो बीचमा पटक पटक राष्ट्रपति भेटेका छन् । ओली नजाँदा उनी निकट नेताहरु गएर राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन्छन् ।

बिहीबार साँझ भण्डारीले दाहाललाई बोलाएर ओलीसँग मिलेर जान सुझाएकी थिइन् । भण्डारी-दाहालको करिब ५० मिनेटको भेटमा केही बिषयमा लचिलो बनेर भए पनि पार्टी एकता जोगाउने छलफल भएको थियो । गत वर्ष मंसिर ४ गते शीतलनिवासमा ओली र दाहालबीच सरकार र पार्टी सञ्‍चालनको कार्यविभाजनमा सहमति गराएकी  राष्ट्रपति भण्डारी त्यसपछि नेकपा विवाद आउँदा सक्रिय हुन थालेकी छन् ।

गत कात्तिक १८ मा पनि नेकपा विवाद चर्किएको बेला उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपतिसँग भेटेका थिए । भेटपछि गौतमले पार्टी एकता बचाउन राष्ट्रपतिले आग्रह गरेको र आफूले सकारात्मक जवाफ दिएको बताएका थिए । सोमबार मात्रै उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्‍वर पोखरेलले राष्ट्रपति भण्डारीसँग करिब दुई घण्टा छलफल गरेका थिए ।

गत कात्तिक २५ मा ओलीले दाहाललाई पत्र लेखेपछि नेकपाभित्र पत्रयुद्धको आरम्भ भएको थियो । सबैका धारणाहरू सहित सचिवालयमा रहेका कागजपत्र स्थायी समितिमा लैजानपर्ने अडान दाहाल–नेपाल पक्षको छ । उक्त अडानलाई ओली पक्षले स्विकार गरेको छैन । यही विषयमा अडिर मंगलबारको बैठकअघि बढ्नेछ । 

कात्तिक २८ मा दाहालले सचिवालय बैठकमा ओली पक्षलाई केन्द्रित गरेर राजनीतिक प्रस्ताव पेश गरेपछि सत्तारुढ दलभित्र निकै खैलाबैला भएको थियो । उक्त प्रस्तावमा ओली र उनी नेतृत्व सरकारलाई गम्भिर आरोप लगाइएको छ । उक्त प्रस्ताव फिर्ता लिन दाहालले अस्विकार गरेपछि ओलीले ३८ पृष्ठको जवाफी प्रस्ताव पेस गरेका छन् । दुवैतर्फको रणनीति एक अर्कामा कसरी काउन्टर गर्ने भन्नेमा छ । 

दाहालसहित सचिवालयका पाँच नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले यसअघिको बैठकमा अध्यक्ष ओलीले बुझाएको पत्र त्यस पत्रमा दाहालको जवाफी पत्र र दाहालको पत्रमा फेरि ओलीको जवाफी पत्रसहित स्थायी समितिमा जानुपर्ने तर्क दाहाल नेपाल पक्षको छ । तर, ओली पक्षले सचिवालयमा सहमति जुटाएर दुवै अध्यक्षको साझा प्रस्ताव स्थायी समितिमा लैजान पर्ने बताएका छ । स्थायी समितिमा साझा प्रस्ताव लैजान नसकिएमा दाहालले प्रस्ताव फिर्ता वा संशोधन गर्नुपर्ने धारणा ओली पक्षको छ । 

ओली पक्षमा विष्णु पौडेल, ईश्वर पोखरेल, रामबहादुर थापा रहेका छन् । मंगलबार सचिवालय बैठकले सबै डकुमेन्ट छलफल हुने र त्यसपछि सबै प्रस्ताव यसअघि नै तय भएको स्थायी समितिमा बहस गर्ने भन्ने छ । मंसिर १८ मा स्थायी कमिटी बैठक बोलाइएको छ । बैठक आइसकेको र त्यसलाई सार्ने विषय उपयुक्त नभएकाले सार्वजनिक भइसकेका प्रस्तावबारे त्यही छलफल गर्ने दाहाल पक्षको धारणा छ । तर, ओली पक्ष भने स्थायी समिति सारेर भए पनि साझा प्रस्ताव लैजान पर्ने पक्षमा छ ।

र, यो पनि
- गुटगत राजनीतिको मारमा मर्यादित राष्ट्रपति पद
- ओली र दाहालले बिहीबार छुट्टाछुट्टै भेटे राष्ट्रपति भण्डारीलाई
- सचिवालयमा एक्लिदै ओली
- एक्लिएको थाहा पाएपछि बैठक छल्दै ओली
- संसद् विघटन र नेकपा फुटबारे पोखरेल भन्छन्- संविधान र कानुनलाई नजरअन्दाज गर्न मिल्दैन्
 


Author

थप समाचार
x