राजनीति

मुख्यमन्त्रीकै संलग्‍नतामा सांसदको अपहरण र बन्‍धक !

विक्रम खड्का |
साउन २१, २०७८ बिहीबार १७:१ बजे

बुटवल - लुम्‍बिनी सरकारले संसदीय राजनीतिको हुर्मत लिने काम गरेको छ । एकपछि अर्कोगरी सरकारकै संलग्‍नतामा चरम अराजनीतिक क्रियाकलापहरू भइरहेका छन् । पछिल्लो पटक सांसद अपहरण र बन्धक बनाइएको घटना सार्वजनिक भएको छ । जसमा स्वयं मुख्‍मन्‍त्री शंकर पोख्रेलकै संलग्‍नता देखिएको छ । एक जना महिला सांसद अपहरण र बन्धक बनाउनेसम्‍मका कूकर्ममा मुख्‍यमन्‍त्रीकै संलग्‍नता हुनु संसदीय राजनीतिमा सामान्य कुरो होइन ।

यसले हुर्किँदै गरेको संघीयताको पनि हुर्मत लिने काम गरेको छ । बाहिर सैद्धान्तिक र वैचारिक राजनीतिका चर्का कुरा गर्ने पोखरेलको पछिल्‍लो हर्कत संसदीय राजनीतिकै विकृत रूप हो ।  यसले संसदीय व्यवस्थाको विकल्प खोज्नेहरूका लागि थप मसलासमेत मिलेको छ । लम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी वली तत्‍कालीन नेकपाबाट निर्वाचित सांसद हुन् । उनी मुख्यमन्त्री पोख्रेलकै गृहजिल्लाबाट प्रतिनिधित्व गर्छिन् ।


गत साता  लुम्बिनी प्रदेश तिनै वलीको वरिपरि घुम्यो । उनी पार्टीको सम्पर्कमा नआएको, अपहरण गरेर बन्धक बनाइएको, पार्टी परिर्वतन गरेको जस्ता समाचारहरू निकै आए । अन्तत: यी सबै विषयको चिरफार बिहीबार दिउँसो १ बजे उनै वलीले गरिन् ।  आफूलाई नेकपा एमाले प्रमुख सचेतक भुमिश्वर ढकाल, दाङका एमाले नेता मानबहादुर राउत र मुख्यमन्त्रीका स्वकीय सचिव तिरण गौतमले जबरजस्ती बुटवल पुर्‍याएर मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर राखेको उनले खुलासा गरिन् ।

माओवादी रोजेपछि पटक-पटक आफूमाथि मानसिक दबाब दिएको बताउँदै उनले तुल्सीपुरस्थित घरबाटै लगेर बुटवल पुर्‍याइएको बताइन् । 'घरमै पुगेर मुख्यमन्त्रीसँग भेटघाट गर्न जाऊँ भनेर दबाब दिए । म बिरामी भएकोले नेपालगञ्ज जाने बताएँ,' उनले भनिन्, 'उनीहरूले नेपालगन्‍ज पुर्‍याइदिने भन्‍दै जबरजस्‍ती बुटवल पुर्‍याए । मैले प्रतिवाद गरेँ । तर एक पटक मुख्यमन्त्रीलाई भेट्नै पर्छ भनेर बलजफ्‍ती लगियो ।'

उनले बुटवल आएर मुख्यमन्त्रीलगायतका नेताहरूलाई भेटेको स्वीकार गरिन् । कुराकानीपछि छोडिदिने सोचेकी वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाइयो । उनको  साथमा एमालेका प्रदेश सभा सदस्य सरस्वती गौतम र कमला विकलाई राखियो । त्यसवाहेक बाहिर सुरक्षाकर्मीहरूले पहरा दिए ।

के-के भयो मुख्यमन्त्रीको निवासमा ? 

बुटवलको मिलनचोकमा मुख्यमन्त्री पोख्रेलको सरकारी निवास छ । त्यहाँ सुरक्षाकर्मीहरूको चौबिसै घण्टा पहरा हुन्छ । वलीलाई साउन १५ गते नेपालगञ्ज भनेर त्यही निवासमा लगियो । मुख्यमन्त्रीसहितका एमाले नेताहरूले उनलाई एमालेमै आउन प्रस्ताव गरे । त्यतिमात्र होइन उनलाई केही रजिष्टरमा हस्ताक्षर गर्न पनि लगाइयो । एमालेमा गएको भन्दै जबरजस्ती विज्ञप्तिसमेत जारी गर्न लगाइयो ।

'मलाई थप दुई वटा 'माइन्युट'मा हस्ताक्षर गर्न लगाइयो । त्यसमा के लेखिएको थियो पढ्न पनि दिइएन' उनले भनिन् । उनले मुख्यमन्त्री कार्यालयमा राखेर आफूलाई एमाले बन्न दबाब र विभिन्न प्रलोभन दिएको समेत बताइन् । तर, आफूले निरन्तर इन्कार गरेको उनको दाबी छ ।

साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो । उनले भनिन्, '२० गते बिहान निकै मानसिक पीडा महसुस भयो । यहाँबाट जसरी पनि निस्कनु पर्छ भन्‍ने सोँच बनाएँ। समय र परिस्थिति हेरी जसरी पनि निस्कनु पर्छ भनेर तयारी गरेँ । ४ दिनपछि पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी शौचालयको चप्पल लगाएर बाहिर निस्किएँ । बाटोमा अटो रिक्सा भेटेपछि त्यसमै चढेर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगेँ ।' 

राजनीति र सरकारको खेलमा यस्तो घटना पहिलो पटक ब्यहोरेको उनले सुनाइन् । 'नेकपा (एमाले) ले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिएनँ,' उनले भनिन्, 'मेरो विचार राजनीति उहाँहरूको भन्दा फरक भए पनि मैले अविभावककै रूपमा मान्ने र बुझ्ने गर्थेँ । तर त्यस्तो व्यावहार पाइएन ।'

अपहरण शैलीमा बुटवल पुर्‍याउने को हुन् ?

भुमिश्विर ढकाल नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक हुन् । उनी रुपन्देहीबाट निर्वाचित सांसद हुन् । उनी मुख्यमन्त्री पोख्रेलका विश्वास पात्रका रूपमा पनि चिनिन्छन् । राजधानी दाङ सार्ने विषयमा उनको र मुख्यमन्त्रीको एकमत थियो । ढकाल प्रदेश सभाको विवादित गाडी खरिद काण्डमा पनि मुछिएका थिए । उनको नेतृत्वमा सांसद वलीलाई बुटवलमा ल्याइएको हो ।

उनीसँग प्रमुख सचेतकको सरकारी गाडी भएकोले कतै जाँच पनि हुने कुरो भएन । त्‍यसैले पनि अपहरण शैलीमा सांसद लिन सजिलो भयो । यही घटनामा जोडिएको अर्को नाम हो मानबहादुर रावत । उनी एमाले दाङ जिल्लाका नेता हुन् । भेरी अस्पतालमा स्वास्थ्यकर्मी कुट्ने घटनाका अभियुक्त पनि हुन् । केही दिन हिरासतमा बसेका रावत धरोटीमा रिहा भएका हुन् । उनी पनि मुख्यमन्त्रीका विश्वासपात्रका रूपमा चिनिन्छन् ।

उनी र वलीबीच जिल्लावासीको चिनजानका कारण पनि यो योजना बनाउन सजिलो भयो। त्यस्तै अर्का सहयोगी मुख्यमन्त्री पोख्रेलका आफ्नै स्वकीय सचिव तिरण गौतम हुन् । यता एमाले संसदीय दलका प्रमुख सचेतक ढकालले वलीले बताएका सबै घटना सत्य नभएको दाबी गरे । एकोहोरो कुरा मात्रै सुनिएको भन्‍दै उनले वलीको आफ्‍नै इच्‍छाले सबै भएको दाबी गरे । 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x