राजनीति

लुम्बिनी प्रदेश

को हुन् लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री ?

सैन्य कमाण्डरदेखि मुख्यमन्त्रीसम्मको यात्रा

विक्रम खड्का |
साउन २८, २०७८ बिहीबार १६:११ बजे

बुटवल- लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी २०२७ सालमा जन्मिएका हुन् । उनी २०४६ सालमा नेकपा मसालको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका थिए। एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आईए पढ्दा पढ्दै विद्यार्थी संगठनमा सक्रिय राजनीति गर्न थाले।

२०४८ देखि २०५० सालसम्म उनले रोल्पा लिवाङस्थित बालकल्याण माविमा स्थायी रुपमा शिक्षण पेशा गरे । प्राथमिक तहको स्थायी शिक्षक केसीले २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएको भन्दै शिक्षकबाट अवकाश लिनुपर्‍यो।


त्यसपछि उनी तत्कालीन जनमोर्चामा सक्रिय भई भूमिगत राजनीति शुरु गरे। त्यसपछि उनले औपचारिक शिक्षालाई अघि बढाएनन् । उनले दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तहमात्रै उत्तीर्ण गरेका छन्। पढाइ छाडेर उनी राजनीतिमै लागे। 

२०५० देखि २०५२ सम्म नेकपा एकता केन्द्रको रोल्पा इलाका सेक्रेटरी भए । २०५२ फागुन १ गते तत्कालीन माओवादीले ‘जनयुद्ध’मा जाने घोषणा गरेपछि उनी भूमिगत भई माओवादीमा सक्रिय भए। माओवादी ‘जनयुद्ध’मा जाने बेला उनी रोल्पा जिल्ला पार्टी सदस्य मात्रै थिए । २०५५ सालमा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरीको जिम्मेवारी पाए। 

त्यसपछि २०५६ साल भेरी-कर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए। माओवादीको सशस्त्र युद्धमा राप्ती क्षेत्रका चर्चित नेताको रुपमा उनले परिचय बनाए । तत्कालीन माओवादीले पहिलो पटक रोल्पाको होलेरी आक्रमण गर्दा केसी सहभागी थिए । २०६० जेठ २० गते पार्टी बैठकका लागि भारत जाने क्रममा भारतको पटनामा उनी पक्राउ परे। 

त्यसपछि उनी २०६३ साउनसम्म झण्डै तीन वर्ष भारतको बक्सर जेलमा बन्दी जीवन बिताए। तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ साउनमा मात्रै केसी जेलमुक्त भए। जेलबाट छुटेपछि २०६३ देखि २०६८ सम्म ‘जनमुक्ति सेना’को तेस्रो डिभिजन कमिसारको भूमिका पाए। 

तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ क्यान्टोनमेन्टमा राखिएपछि वाईसीएल इन्चार्जको भूमिका पनि उनले निर्वाह गरे। २०६९ सालमा माओवादी विभाजन भएपछि उनी मोहन वैद्यको पक्षमा लागे। पार्टी अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिलाई धोका दिएको भन्दै उनले प्रचण्डको साथ छाडेका थिए। 

वैद्य पक्षको माओवादीको स्थायी कमिटि सदस्य भएका उनी दोश्रो संविधानसभा निर्वाचन बहिष्कार अभियानमा लागे । वैद्यसँग ४ वर्षजति बिताएर उनी फेरि रामबहादुर थापा बादलसित नजिक हुँदै प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए। माओवादीमा फर्किएपछि उनी २०७४ मा भएको प्रदेश सभा निर्वाचनमा रोल्पा-१ 'क'बाट माओवादी-एमाले गठबन्धनको तर्फबाट चुनाव जिते।

गठबन्धनमा एमालेका शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दा उनले दोश्रो बरियताको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाए। शंकर पोख्रेल नेतृत्वको सरकार ढाल्न मोर्चा बनाएका उनै कुलप्रसाद केसी सोनाम मुख्यमन्त्री बनेका छन् । गठबन्धनबाट पहिलो किस्ताको मुख्यमन्त्री पाएका उनले अगाडिको चुनौतीको चाँङ कसरी पन्छाएर अघि बढ्छन् हेर्न बाँकी छ । 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x