राजनीति

‘वाइसीएलका ७५ प्रतिशत युवा सेर्पालीको पक्षमा’

इकागज |
भदौ १४, २०७८ सोमबार २०:५४ बजे

काठमाडौँ – नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलको तीन दिनदेखि जारी राष्ट्रिय सम्मेलनले अध्यक्ष चयन गर्न सकेको छैन । सम्मेलनले संगठनको अध्यक्ष चयन गर्न नसकेपछि सोमबार पार्टीको स्थायी कमिटी बैठक बसेर वाइसीएलको अध्यक्ष चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ ।

वाइसीएल अध्यक्षमा सुवोधराज सेर्पाली र सुमन देवकोटाले दाबेदारी प्रस्तुत गरेका छन् । शनिबार सुरु राष्ट्रिय सम्मेलन दुई दिनसम्म चल्ने बताइए पनि संगठनको अध्यक्ष चयन हुन नसकेपछि मंगलबारसम्म लम्बिएको छ । गण्डकी र कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यको नाम आउन बाँकी रहेकाले मंगलबारसम्मका लागि वाइसीएलको बन्दसत्र स्थगित गरिएको भनिए पनि नेतृत्व विवादका कारण नै भेला तोकिएको समयभन्दा दुई दिन लम्बिएको वाइसीएल पदाधिकारीहरूको भनाइ छ । 


मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको बन्दसत्रअगावै पार्टी अध्यक्ष दाहालले वाइसीएल पदाधिकारीसँग छलफल गरेर अध्यक्ष चयन गर्न स्थायी कमिटीले जिम्मेवारी दिएको हो । पार्टीको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले सेर्पालीलाई वाइसीएल अध्यक्ष बनाउने विषयमा आवाज उठेको बैठकमा सहभागी एक नेताले बताए । हाल महासचिव रहेका सेर्पालीलाई नै संगठनको अध्यक्ष बनाउन नेताहरूले अध्यक्ष दाहालसमक्ष आग्रह गरेको ती नेताको भनाइ छ । 

‘संगठनलाई चलायमान बनाएर पार्टीलाई क्रियाशील गर्न वाइसीएल नेतृत्व कसलाई दिने भन्ने विषयमा गहन छलफलपश्चात अध्यक्षले बैठकको मर्मअनुसार नै नेतृत्वको टुंगो लगाउने बताउनु भएको छ,’ स्थायी कमिटीका एक सदस्यले भने । वाइसीएल पदाधिकारीदेखि केन्द्रीय कमिटीसमम बलियो पकड बनाएका सेर्पाली पक्षधरहरू नेतृत्वमा सहमति जुट्न नसक्दा निर्वाचनबाट नेतृत्व चुन्नुपर्ने आवाज उठाउन थालेका छन् । ‘जिल्ला पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म सेपार्ली कमरेडको पकड छ । वाइसीएलका झण्डै ७५ प्रतिशत सदस्य उहाँको पक्षमा छन् । पार्टी नेतृत्वले यसबारे बुझेकै छ,’ केन्द्रीय कमिटीका एक सदस्यले भने,‘नेतृत्वमा सहमति जुट्न नसके निर्वाचनबाट नेतृत्व चुन्नुपर्छ । निर्वाचनमा जान हामी सहमत छौं ।’  

उमेरका हिसाबले सेर्पालीभन्दा देवकोटा जेठा छन् । संगठनको विधानअनुसार देवकोटा अध्यक्षमा रहने उमेरहद ६ महिनामात्रै बाँकी छ भने सेर्पाली तीन, चार वर्षसम्म अध्यक्षमा रहनसक्ने भएकाले अध्यक्षमा सेर्पाली नै योग्य भएको अधिकांश पदाधिकारीहरूको तर्क छ ।


Author

थप समाचार
x