राजनीति

मन्त्रीमाथि बलात्कार आरोप प्रकरण

राजनीतिक प्रतिशोध कि साँच्चिकै बलात्कार ?

लक्ष्मी भण्डारी |
भदौ १७, २०७८ बिहीबार १७:३ बजे

सुर्खेत - कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाहीमाथि बलात्कार आरोप लागेपछि सामाजिक सञ्जालमा यही विषयले तातेको छ । शाहीले एक महिलामाथि बलात्कार गरेको आरोप लागेपछि उक्त भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ । यद्यपि उक्त घटनामा आफ्नो संलग्नता नरहेको मन्त्री शाहीको दाबी छ । भिडियोमा देखिएको व्यक्ति आफू नै भए पनि एडिट गरेर अश्लील दृश्यहरू राखी आफ्नो बदनाम गर्न खोजिएको जिकिर मन्त्रीको छ । 

मन्त्रीमाथि बलात्कार आरोप लागेपछि दुई खाले धारणा बाहिर आएको छ । ‘पीडित पक्षले आफू पीडित हुँ’ भन्ने स्पष्ट भएको छैन । अर्काे थरिकाले भने भिडियो सार्वजनिक भएको र सार्वजनिक पदमा बसेको व्यक्तिमाथि गम्भीर आरोप लागेका व्यक्तिले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।


उता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । बहालवाला मन्त्रीलाई बलात्कारको आरोप लागिरहँदा सरकार मौन छ । प्रदेशस्थित राजनीतिक दल, नागरिक समाज र अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाले  यो विषयमा कर्णाली सरकारको धारणा सार्वजनिक गर्नुपर्ने भन्दै विज्ञप्ती निकालेका छन् । सर्वत्र आलोचना र चर्चा भइहेको मन्त्रीको संलग्नता भनिएको घटनामा सरकारले प्रष्ट धारणा सार्वजनिक नगर्नुलाई नागरिक अगुवाहरुले शंकासपद रुपमा लिएका छन् ।

यता कर्णाली सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले पीडित पक्षले किटानी जाहेरी नदिएसम्म सरकारले कुनै कदम नचाल्ने बताइन् । उनले दुुवै पक्षले पत्रकार सम्मेलन गरी होइन भनी भनिसकेकाले सरकार यस विषयमा प्रक्रिया अघि बढाउन बाध्य नहुने उनको भनाई छ । ‘पीडित पक्षले किटाणी जाहेरी नदिएसम्म हामीले केही गर्न मिल्दैन’ उनले भनिन्, ‘सरकारले यो विषयमा कदम चाल्दैन ।’

कर्णाली प्रदेशको प्रमुख प्रतिपक्षी दल एमालेले मन्त्रीले महिलालाई बलात्कार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहँदा सरकारले उचित कदम नचालेको भन्दै मन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएको छ । 

राजनीतिक अभिष्ट र सुनियोजित खेल : मन्त्री शाही

सार्वजनिक भिडियोको सुरूमा मन्त्री शाहीलाई प्रष्ट देख्न सकिन्छ । झन्डै ६ मिनेट लामो भिडियोमा पछिका दृश्यहरू भने त्यति प्रष्ट छैनन् । शाहीले पत्रकार सम्मेलनमार्फत आरोप लगाएको भिडियोको सुरूमा देखिएको मान्छे आफू भएको स्वीकारेका छन् ।

पछिल्ला दृश्यहरू भने सुनियोजित तरिकाले राजनीतिक अभिष्ट पूरा गर्न विपक्षीहरूले गरेको योजना भएको दाबी मन्त्री शाहीको छ ।  भिडियो सामग्री बाहिरिएपछि आफू नै अन्यायमा परेको उनले बताए । आफ्नो चरित्रहत्या गर्न यस्ता कार्यहरु गरिएको भन्दै उनले यस कार्यमा संलग्न समूहविरुद्ध कानुनी उपचार खोज्ने बताए । ‘यस्तो भिडियो बनाएर मेरो चरित्र हत्या गरियो’ मन्त्री शाहीले भने, ‘म अब चुप बस्दिन, कानुनी बाटोमा जान्छु ।’ 
 
घटना छानबिनको माग

यता मन्त्री शाही आफूले ‘फ्लोर–क्रस’ गरेको परिणामको रुपमा यस्ता खालका सुनियोजित घटना भएको दाबी गर्छन् । ‘मैले फ्लोर क्रस गरेकै दिनबाट मेरा शत्रुहरु लागेका छन्’ उनले भने, ‘राजनीतिक अभिष्ट पूरा गर्न यस्ता भिडियो सार्वजनिक भएका हुन् ।’

आरोपित मन्त्रीसहित चार जना माधवकुमार नेपाल पक्षका सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृवको सरकारलाई गत वैशाख ३ गते विश्वासको मत दिएका थिए । मुख्यमन्त्रीको पद जोगाएपछि शाहीसहित तीन जना मन्त्री भएका थिए । ‘फ्लोर–क्रस’ गरी मुख्यमन्त्रीको पद जोगाएको भन्दै एमालेले कारबाही गरी चार जनालाई सांसद पदबाट पदमुक्त गरेको थियो । आरोपित मन्त्री शाहीसहित ‘फ्लोर–क्रस’ गर्ने चारैजना एकीकृत समाजवादीमा लागेका छन् । 

नागरिक समाज र अधिकारकर्मीहरूले घटनाको विषयमा छानबिन हुनुपर्ने बताउँछन् । अधिकारकर्मी पवित्रा शाहीले यो घटनालाई सरकार र मन्त्री दुवैले सामान्य रूपमा लिनु झनै दुःखद रहेको भन्दै घटनाको विषयमा छानबिन हुनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘यस्ता घटनालाई हल्का रूपमा लिँदा अपराधले प्रश्रय पाउँछ ।’ 

यता अधिवक्ता गीता कोइराला घटनामा राजनीतिकरण भएको जिकिर लिन्छन् । पीडित भनिएको महिलाले नै यो घटना होइन भनिसकेकाले आवाज उठाउँदै आएका अधिकारकर्मीहरुलाई समस्या भएको बताइन् । 

यस घटनाको जाहेरी पनि नआएको र हदम्याद नाघेकाले सरकारले छानबिन गरी सत्य–तथ्य कुरा बाहिर ल्याउनुपर्ने बताउँछन् । ‘पीडित महिलाले ममाथि बलात्कार भएको छैन भनेपछि हामी अधिकारकर्मी कसरी बोल्ने ?’ उनले भनिन्, ‘त्यसकारण यस घटनाको छानबिन गरी सरकारले यथार्थ बाहिर ल्याउनुपर्छ ।’
 


Author

थप समाचार
x