राजनीति

संविधान दिवस सन्दर्भ:

यसवर्षको विभुषण अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई प्राथमिकता

दिवंगत पूर्वप्रधानमन्त्री किसुनजीलाई नेपाल रत्न

इकागज |
असोज २, २०७८ शनिबार २०:१ बजे

फाइल फोटो

काठमाडौँ - सरकारले यसवर्ष संविधान दिवसका अवसरमा कोभिड–१९ नियन्त्रणमा अग्रपंक्तिमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई प्राथमिकतामा पारेर विभुषण वितरण गर्ने निर्णय गरेको छ । यसपटक चिकित्सक र स्वास्थ्यकर्मी गरी एक सय १० जनाले विभुषण पाउने निर्णय भएको छ ।
 
गृहमन्त्री अध्यक्ष रहेको सिफारिस समितिको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेर उनीहरुसहितका राजनीति, समाज सेवा, खेलकुद, कलाकारिता, कानुनलगायतमा योगदान पुर्‍याउनेलाई विभुषण प्रदान गर्ने निर्णय गरिएको हो । 

यसवर्षको सबैभन्दा ठूलो ‘नेपाल रत्न’ विभुषण पूर्वप्रधानमन्त्री नेपाली कांग्रेसका सस्थापक नेता दिवंगत कृष्णप्रसाद भट्टराईलाई दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दियो । त्यसैगरी ‘राष्ट्र गौरव’ विभुषण दुई जनाले पाउने भएका छन् । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष शुवर्ण शमसेर मरणोपरान्त र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिने निर्णय भएको छ । 


‘महाउज्ज्वल राष्ट्रदिप’ विभुषण ६ जनाले पाउने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, मोहनचन्द्र अधिकारी, तुल्सीलाल अमात्य (मरणोपरान्त), मंगलादेवी सिंह (मरणोपरान्त), दुर्गानन्द झा (मरणोपरान्त), र नारायण गोपाल गुरुवाचार्य (मरणोपरान्त)लाई दिने निर्णय भएको प्रधानमन्त्री कार्यालाय स्रोतले जानकारी दिएको छ । 

त्यस्तै प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका प्रवक्ता (एआइजीपी) राजु अर्याललाई पनि विभुषण प्रदान गरिने भएको छ । 

त्यस्तै बाल अभियान्ता प्रेन्सा रेग्मी, एसिड आक्रमणमा परेकी मुस्कान खातुन, ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सबैभन्दा कम उमेरमा सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा वकालत गर्ने सुलभ खरेल, नायिका केकी अधिकारी, गायिका विष्णु माझी, नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पनि विभुषण प्रदान गरिने भएको छ । 

यसअघिका रेकर्ड तोड्दै यसपटक गृहसचिव टेकनारायण पाण्डेले भने विभुषण नलिने भएका छन् । स्रोतका अनुसार आफैले सिफारिस गर्ने विभुषण आफैले नलिने गृहसचिव पाण्डेले बताएको स्रोतले बतायो । यसअघि सबै गृहसचिवले विभुषण लिने गरेका थिए । 

त्यस्तै लेखक खगेन्द्र संग्रौला, राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुन, काटुनिष्ट वात्स्यायन र कलाकार नीर शाहले भने आफूहरुले यसअघि नै पदक लिएको भन्दै अरुलाई दिन भन्दै आफूलाई सम्झेकोमा धन्यवाद दिएको स्रोतले बताएको छ । 
    
 


Author

थप समाचार
x