राजनीति

ओलीले एकलौटी गरेपछि संवैधानिक परिषद् बैठकमा सभामुख नजाने, बैठक अन्यौलमा

इकागज |
मंसिर ३०, २०७७ मंगलबार ८:३७ बजे

काठमाडौं : आज बोलाइएको संवैधानिक परिषद् बैठकमा प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटा नजाने भएका छन् । परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एजेण्डाबारे कुनै जानकारी नगराएको रिक्त संवैधानिक निकायमा नियुक्त गर्नका लागि बनाइएको रोष्टर पनि उपलब्ध नगराएको भन्दै सभामुख सापकोटा बैठकमा नजाने भएका हुन् । सभामुख नजाने भएपछि परिषद्‍को बैठक नबस्‍ने भएको बालुवाटार स्रोतले इकागजलाई जानकारी दियो ।

सापकोटाले अध्यक्ष ओली, सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा तथा अन्य सदस्यहरुलाई पनि बैठकमा आफू अनुपस्थित हुनेबारे जानकारी गराइसकेका छन् । कांग्रेस नेता रमेश लेखकले सापकोटा नजाने खबर देउवा निवास पुर्‍याएपछि के गर्ने भन्‍ने अन्यौलमा कांग्रेस रहेको छ । ‍


आइतबार बोलाइएको परिषद्को बैठक प्रमुख प्रतिपक्षी दलका नेता देउवा अनुपस्थित भएपछि अध्यक्ष ओलीले स्थगित गरेर आजका लागि बोलाएका थिए । तर, आज सभामुख सापकोटा नजाने भएपछि बस्‍ने या नबस्‍ने टुंगो छैन ।

१३ महिनादेखि परिषद्को बैठक नबस्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगलगायतका संवैधानिक निकायमा ४६ प्रमुख तथा सदस्यहरू नियुक्त हुन सकेका छैनन् । दलहरूबीच भागवण्डा नमिल्दा बैठक बस्‍न नसकेको हो । संवैधानिक अंगमा योग्य, क्षमताभन्दा पनि परिषद्का पदाधिकारीहरूको भागबन्डामा आधारित हुने गरेको छ ।

र, यो पनि
- कोरम नपुगेपछि संवैधानिक परिषद्‍को बैठक स्थगित
- यसकारण बस्दैन आइतबार बोलाइएको संवैधानिक परिषद् बैठक
संवैधानिक परिषद् बैठकमा देउवा नजाने
संवैधानिक अंगका उम्मेदवारको सूची प्रधानमन्त्रीको खल्तीमा, कसले मार्ला बाजी ?


Author

थप समाचार
x