राजनीति

कांग्रेस गाउँ-नगर अधिवेशन

उदयपुरमा परराष्ट्रमन्त्री निकटको वर्चस्व

इकागज |
असोज १०, २०७८ आइतबार १४:५९ बजे

विराटनगर - उदयपुरका आठवटै स्थानीय तहमा गाउँ-नगर अधिवेशन सम्पन्न भएको छ । ताप्ली र उदयपुरगढी गाउँपालिकाबाहेक बाँकी ६ वटा स्थानीय तहमा गाउँ-नगर सभापतिसहितका पदमा निर्वाचन भएको हो । 

नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तरगत भएको निर्वाचनमा उदयपुरका आठमध्ये पाँचवटा तहमा संस्थापन पक्षका नगर सभापतिका उम्मेद्वारले जितेका छन् । त्रियुगा नगरपालिकाको मतगणना आइतबार बिहान सकिएसँगै उदयपुरका आठै तहको गाउँ-नगर अधिवेशन सम्पन्न भएको जनाइएको छ । जिल्लाको मुकाम त्रियुगामा देउवा समूहका प्रकाश खड्काले पौडेल समूहका सुमनकुमार चौधरीलाई १२ भोटले पराजित गरेका छन् । खड्काले १९५ मत प्राप्त गरेका हुन् ।


दुई उपसभापतिमध्ये पौडेल समूहबाट उमेशकुमार बुढाथोकी र शर्मिला थापा बिजयी भएका छन् । बुढाथोकीले १८४ र थापाले १८५ मत ल्याएर विजयी भएका हुन् । त्यसैगरी दुई सचिवमा संस्थापन समूहका कुमार पौडेल र पौडेल समूहबाट धनबहादुर कटुवाल (डिबी) विजयी भएका छन् । 

उदयपुरमा चार नगरपालिका र चार गाउँपालिका छन् । बाँकी तीन वटामा पौडेल समूहबाट उम्मेद्दवार नगर सभापतिमा निर्वाचित भएका हुन् । बेलका नगरपालिकामा अशोक कार्की, चौदण्डीगढी नगरपालिकामा राजेन्द्र पौडेल, त्रियुगा नगरपालिकामा प्रकाशकुमार खड्का, उदयपुरगढी गाउँपालिकामा यमबहादुर पाण्डे र लिम्चुङबुङ गाउँपालिकामा नेत्रबहादुर कार्की पार्टी सभापति शेरबहादुर देउवा लाइनका हुन् ।

बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका देउवा सरकारमा चार दिन अघिमात्रै परराष्ट्रमन्त्री नियुक्त भएका डा. नारायण खड्काको निर्वाचन क्षेत्रभित्रका पालिका हुन् । संस्थापन इतर पौडेल समूहबाट कटारी नगरपालिकामा प्रेम थापा, रौतामाई गाउँपालिकामा घमानसिंह थापा मगर र ताप्ली गाउँपालिकामा दीपकुमार रास्कोटी निर्वाचित भएका हुन् ।


Author

थप समाचार
x