राजनीति

माओवादी बैठकमा संगठन व्यवस्थित र विस्तार गर्ने योजना पेस

इकागज |
असोज १३, २०७८ बुधबार १७:४५ बजे

काठमाडौँ -  नेकपा (माओवादी केन्द्र) ले पार्टीको आन्तरिक संगठनलाई व्यवस्थीत पार्न गृहकार्य सुरु गरेको छ । बुधबार पेरिसडाँडामा बसेको माअ‍ेवादी स्थायी कमिटी बैठकमा पार्टीको संगठन व्यवस्थित र विस्तार गर्ने योजना पेस भएको हो ।

उक्त योजना बैठकले स्वीकार गरेको नेता देवप्रसाद गुरुङले जानकारी दिए । त्यस्तै बिभिन्न समयमा भएका पार्टी एकताका आधारमा संगठनमा समेट्न छुटेका नेताहरुको समायोजनाका लागि गठित कार्यदलले सुझाव पेश गरेको र कार्यान्वयनमा लैजाने निर्णय भएको नेता गुरुङले बताए ।


त्यस्तै पार्टीको स्कुल विभागसम्बन्धी व्यवस्थाका बारेमा केहि योजनाहरू बैठकमा पेस भएको र अध्ययन गरेर टुङ्गो लगाउने निर्णय भएको उनको भनाइ छ । त्यस्तै सरकार गठनका बारेमा गठबन्धनबीच छलफल गरेर आवश्यक निर्णयमा पुग्ने र त्यसैका आधारमा पार्टीले नाम पठाउने गुरुङले बताए ।  गुरुङले एमालेले सदन अवरुद्ध गरेको अवस्थामा विपक्षीसंग सरकारको तर्फबाट छलफल गरेर संसद्को प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।

बैठकमा माओवादी अध्यक्ष पुष्प कमल दाहालले छिट्टै सत्ता गठबन्धनको बैठक बसेर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको पनि बताए ।


Author

थप समाचार
x