राजनीति

'म सभापतिको अभियानमा हाेमिइसकेँ, ए/बी कांग्रेस भन्‍ने गुटीय अवधारणा समाप्त पार्ने हो'

इकागज |
कात्तिक ७, २०७८ आइतबार १३:६ बजे

काठमाडौँ -  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन् । आज  जनकपुरमा नेपाल प्रेस युनियनले आयाेजना गरेकाे पत्रकार भेटघाटमा बाेल्दै सिंहले १३औं महाधिवेशनबाट निर्वाचित भएर आएका सभापति र पदाधिकारीहरूको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाएका छन् । 

केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको उनको भनाइ थियो ।पदाधिकारीहरूले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार चार पटक मिति परिवर्तन गरेको भन्दै अब कुनै हालतमा पनि मिति सार्न नदिने उनको भनाइ छ । तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्नेमा नको जोड थियो । 


आफ्नो स्वार्थ पुरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको भन्दै उनले निर्वाचन समितिलाई तत्काल क्रियाशील सदस्यको सूची जिम्मा लगाउन नेतृत्वसँग आग्रह गरे । १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बनेरै छाड्ने भन्दै उनले भने, ‘महाधिवेशन शुरु भइसक्यो, क्रियाशील सदस्य नदिने के तरिका हो यो ? परिणाम आफ्नो पक्षमा पार्नका लागि यो सबै खेल भइरहेको छ ।’

महाधिवेशनलाई खेलाँचीका रुपमा लिइएमा सह्य नहुने चेतावनी दिँदै सिंहले भने, ‘१४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता छ । म सभापतिको अभियानमा हाेमिइसकेँ । ए कांग्रेस, बी कांग्रेस भन्ने गुटीय अवधारणा समाप्त गर्नुपर्दछ । विधि नियम अनुसार चल्ने पार्टी बनाउने मेरो ध्येय छ ।’   


Author

थप समाचार
x