राजनीति

सरकार होइन व्यवस्था परिवर्तन आवश्यक : उपेन्द्र यादव

'पुँजीपति वर्गले ठूला पार्टीमा दुई अर्ब लगानी गरेर ५० अर्ब असुल्न महंगी बढाइरहेका छन्'

सुभाष कर्ण |
कात्तिक ८, २०७८ सोमबार १८:३ बजे

जनकपुरधाम – जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपालमा सरकार होइन राजनीतिक व्यवस्था परिवर्तन आवश्यक रहेको बताएका छन् । सोमबार जनकपुरधाममा जसपा नगर समितिद्वारा आयोजित दसैं, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । यादवले मुलुकमा विकास र समृद्धिका लागि राजनीतिक, आर्थिक र समाजिक परिवर्तन आवश्यक रहेको औंल्याएका छन् । 
 
‘मुलुक पछाडि पर्नुको प्रमुख कारण शासक मात्र परिवर्तन भई व्यवस्थामा परिवर्तन नआउनु हो । देशमा अहिलेसम्म सरकार परिवर्तनको खेल मात्रै चल्दै आएको छ । अहिले पनि ओलीको सरकार गएपछि कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनेको छ, तर जनताले सरकार परिवर्तनको अनुभुति गर्न सकेका छैनन्,’ यादवले भने, ‘अबको आवश्यकता सरकार परिवर्तनको होइन व्यवस्था परिवर्तनको हो ।’

अध्यक्ष यादवले जबसम्म राजनीतिक, समाजिक र आर्थिक परिवर्तन हुदैन तबसम्म मुलुक विकास र समृद्धिमा पछाडि रहने भन्दै राजनीतिक परिवर्तनका लागि सरकार होइन राजनीतिकर्मीको प्रवृत्तिमा परिवर्तन हुन आवश्यक रहेको बताए ।


उनले न्याय प्रणाली, संघीय संरचना, निर्वाचन प्रणालीमा सामाजिक परिवर्तन हुन जरुरी रहेको उल्लेख गरे । ‘अहिले एकात्मक न्याय प्रणाली छ यसलाई सबैको पहुँच हुने गरी संघीय न्याय प्रणालीमा परिवर्तन गर्नुपर्छ । एकात्मक होइन संघीय संरचनाअनुसार प्रदेशलाई शक्तिशाली बनाउन जरुरी छ,’ यादवले भने ।  

अध्यक्ष यादवले पुर्णसमानुपातिक निर्वाचन प्रणाली लागू गरेमात्र देशमा निर्वाचन खर्च घट्नुका साथै महंगीसमेत नियन्त्रण हुने र राजनीतिमा तल्लोस्तरका व्यक्तिदेखि माथिल्लो स्तरका व्यक्तिसम्मको पहुँच हुने धारणा राखे । ‘अहिलेको निर्वाचन प्रणाली खर्चिलो हुने भएको कारण निम्न वर्गका व्यक्ति चाहेर पनि निर्वाचनमा सहभागी हुन सकेका छैनन्,’ उनले भने । 

प्रत्येक निर्वाचनपछि महंगी बढ्ने गरेको भन्दै अध्यक्ष यादवले पुँजीपति वर्गले ठूला पार्टीमा दुई अर्ब लगानी गरेर ५० अर्ब रकम असुल्न देशमा हरेक सामानको मूल्य बढाएर चर्को महंगी गर्दै आएको यादवको भनाइ छ । देशका मूल आयश्रोत कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गरे मुलुकमा आर्थिक परिवर्तन सम्भव रहेको उनले बताए । ‘कृषिमा राज्यले लगानी गरे बेरोजगारीका साथै आर्थिक समस्या पनि हट्नेछ,’ उनले भने । सो कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, वन तथा वातावरणमन्त्री रामनरेश राय र सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायत उपस्थित थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x