राजनीति

पूर्वसांसद फुयाँल नेकपा एसमा प्रवेश

मालेको तीन जिल्ला कमिटी नेकपा एसमा समाहित

इकागज |
कात्तिक २५, २०७८ बिहीबार २१:३१ बजे

खोटाङ – खोटाङका पुराना वामपन्थी नेता तथा पूर्वसांसद कुलप्रसाद फुयाँल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा मालेका पोलिटब्यूरो सदस्य एवम् प्रदेश कमिटी सचिव रहेका फुयाँलले बिहीबार प्रेस विज्ञाप्तीमार्फत एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी दिएका हुन् । 

२४ कात्तिकमा नेकपा मालेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका फुयाँल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनेगरी एकीकृत समाजवादी रोजेको बताएका छन् ।फुयाँलसँगै नेकपा मालेका केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शंकर पोखरेल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पोखरेललाई केन्द्रीय सदस्य, राईलाई केन्द्रीय परिषद् सदस्य एवम् प्रदेश कमिटी सचिवालय सदस्य र यादवलाई प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको एकीकृत समाजवादी खोटाङका इन्चार्ज बबी चाम्लिङले बताए ।


नेकपा मालेको मूल नेतृत्वमा आएको वैचारिक, कार्यनीतिक अस्थिरता, ०६२/०६३ को आन्दोलनको उपलब्धिलाई टेकेर अगाडि बढ्नुपर्ने वर्तमान अवस्थामा नेतृत्वमा अन्यौलता देखिएका कारण पार्टीबाट अलग हुनुपरेको विज्ञाप्तीमा उल्लेख छ । 

नेकपा मालेको तीन जिल्ला कमिटी नेकपा एसमा समाहित 

यसैबीच, नेकपा मालेको खोटाङ, तनहुँ र स्याङ्जा जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । नेकपा एकीकृत समाजवादीले वर्तमानमा कम्युनिस्ट आन्दोलनलाई सही रूपमा अगाडि बढाउन सक्ने भन्दै नेकपा मालेको तीन जिल्ला कमिटी समाहित गरिएको हो । 

पार्टी एकीकरणका लागि २३ कात्तिकमा जिल्लामा वार्ता टुंग्याएपछि पूर्वसांसद फुयाँलसहित चार नेताको राजीनामासँगै जिल्ला कमिटी एकीकरणको घोषणा गरिएको हो । 

जिल्लामा मालेको २५ सदस्यीय जिल्ला कमिटी र समाजवादीको जिल्ला कमिटीको औपचारिक एकीकरण घोषणा केही समयपछि हुने जिल्ला इन्चार्ज चाम्लिङले बताए । जिल्लामा मालेका एक जनालाई पदाधिकारी दिने सहमती भएको जनाइएको छ ।


Author

थप समाचार
x