राजनीति

इटहरीका मेयर चौधरीले माधव नेपाललाई दिए आफ्नै घरमा लन्च पार्टी

इकागज |
कात्तिक २६, २०७८ शुक्रबार १४:५९ बजे

सुनसरी – इटहरीका मेयर द्वारिकलाल चौधरीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आफ्नै घरमा लन्च पार्टी दिएका छन् । नेकपा एमाले सुनसरीको नेतृत्वसँग असन्तुष्ट रहँदै आएका चौधरीले शुक्रबार नेपाललाई लन्च पार्टी दिएका हुन् ।  

चौधरीले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलगायत नेकपा एसका नेतालाई घरमा भोज खुवाएका हुन् । चौधरीले इटहरी लबिपुरस्थित आफ्नो घरमा खसी, लोकल कुखुराको मासु र माछाका विभिन्न परिकारसहित उनीहरूलाई सत्कार गरेका हुन् ।


सो क्रममा उनले नेपाल र मुख्यमन्त्री राईलाई इटहरी उपमहानगरभित्र बाढीको समस्या, ६ लेन सडकमा भएको अवरोध तथा अन्य विषयमा लिखित ध्यानाकर्षण पत्र बुझाएका छन् । एमाले अध्यक्ष केपी ओलीनजिक मानिएका चौधरीले दुई दिनअघि मात्र एमाले जिल्ला कमिटी सुनसरीको बैठक विधि, पद्धतिअनुसार नचलेको भन्दै माइक खोसेका थिए ।

उनले बैठकमा केन्द्रीय नेताहरूको हस्तक्षेप भएको विषयलाई लिएर बहिष्कार गरेका थिए । बहिष्कार गरे पनि एमालेको रेवती भण्डारी र रमेश बस्नेत पक्षले नेतृत्व गरेको समूहको बैठक खेमराज पोखरेलको अध्यक्षतामा बसेको थियो । 

चौधरीले एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने गरी बिहीबार मात्र समाजवादीका प्रदेश १ अध्यक्ष एवम् उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खाना खाएको भिडियो सामाजिक सञ्जालमा हालेका थिए । समाजवादीको इटहरी नगर कमिटीको फेसबुकवालमा पनि चौधरी र इटहरी उपमहानगरपालिका ४ का अध्यक्ष चन्द्र भट्टराईले एमाले छाड्ने उल्लेख गरिएको छ ।


Author

थप समाचार
x