राजनीति

के पाँच न्यायाधीश इजलास फर्कन तयार भएकै हुन् ?

सन्तोष अधिकारी |
कात्तिक २९, २०७८ सोमबार १९:४ बजे

काठमाडौैँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दा बहिष्कार गर्दै आएका सर्वाेच्च अदालतका न्यायाधीशहरुबीच खटपट सुरु भएको छ । १९ न्यायाधीशहरूमध्ये तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, कुमार चुडाल, मनोज शर्माले न्यायाधीश, नेपाल बार र सर्वोच्च बारबीचको बैठक बहिष्कार गरेका हुन् ।
 
‘फुलकोटबाहेक अरु छलफलमा सहभागी नहुने भनेर हामीले निष्कर्ष निकाल्यौँ र सोही अनुसार निर्णय पनि गर्‍यौँ,’ आजको छलफल बहिष्कार गर्नेमध्येकै एक न्यायाधीशले भने, ‘कति दिन इजलासबाट बाहिर हुने भन्ने कुरा पनि आयो । जनताले नपाउने दुःख पाइसके । त्यसैले गोलाप्रथा लागू गरेर भए नि काममा फर्कनु पर्छ भन्ने हाम्रो कुरा हो ।’ 

प्रधानन्यायाधीश राणाले जारी गरेको विज्ञप्तिमा आन्दोलनत पक्षलाई वार्तामा आउन र न्यायाधीश हरिकृष्ण कार्की नतृत्वको समितिले दिएको प्रतिवेदन लागू गराउन तयार रहेको उल्लेख छ ।  


यता सर्वोच्चका अर्का एक न्यायाधीशले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा अहिले पनि सबै एक ढिक्का रहेको दाबी गरे । ‘प्रधान्यायाधीशविरुद्ध सबै न्यायाधीश एकजुट नै हुनुहुन्छ,’ ती न्यायाधीशले इकागजसँग भने, ‘तर, न्यायाधीशहरुबीच भने केही मतभेद भएको हो । ‘आजको छलफलमा नजानु भएको न्यायाधीकहरुले हाम्रो ‘इन्सल्ट’ भयो भन्नु भएको छ । कुरा यत्ति हो उहाँहरु इजलासमा फर्कने सम्भावना छैन ।’

आजको छलफल बहिष्कार गरेका पाँच न्यायाधीशले गोलाप्रथा लागू गरेको खण्डमा इजलासमा फर्कनुपर्छ भनेर न्यायाधीशहरु मात्रैको छलफलमा पनि भन्दै आएका थिए । ‘हामीले गोलाप्रथाबाट इजलास तोक्ने सिस्टम बस्यो भने इजलासमा फर्कनु पर्छ भनेर भन्दै आएका थियौँ,’ पाँचमध्येकै एक न्यायाधीशले भने, ‘ गोलाप्रथाबाट भयो भने न्यायाधीशले पेशी तोक्ने होइन नि त अनि जनतालाई कति दिन दुख दिनु ।’   

प्रधानन्यायाधीश राणाले आज बिहानै संवादका लागि आह्वान गर्दै विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्तिपछि न्यायाधीशहरुले नेपाल बार र सर्वाेच्च बारका पदाधिकारीसँग छलफल डाकेका थिए । न्यायाधीशहरुले नै डाकेको छलफलमा १३ जनामात्रै न्यायाधीश उपस्थित थिए । ‘हामी छलफलका लागि गएका थियौँ जाँदा १३ जनामात्रै न्यायाधीहरु हुनुहुँदो रहेछ,’ नेपाल बारका महासचिव लीलामणि पौडेलले इकागजसँग भने, ‘हामीलाई चाहिँ त्यहाँ उपस्थित नहुनु भएको न्यायाधीहरु बेन्चमा हुनु भएको भनेर जानकारी दिइयो । तर, हामी लामो समय कुरेर बस्यौँ उहाँहरु आउनु भएन ।’ 

यता नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवादका लागि आह्वान गरेलगत्तै जवाफ फर्काए  । उनीहरुले भ्रष्टाचार, विकृति विसंगतिको नाइके प्रधानन्यायाधीश राणा आफैँ भएको आरोप लगाउँदै राजीनामा नै 'बटम-लाइन' भएको बताए । उनीहरुले राणासँग संवाद, वार्ता नगर्ने पनि स्पष्ट पारे । 

‘भोलि हाम्रो छलफल छ । न्यायालयलाई अझ परिस्कृत, विसंगतिबाट मुक्त कसरी बनाउने भन्ने हाम्रो मूल एजेन्डा हो,’ नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘त्यसका लागि प्रधानन्यायाधीशको राजीनामा नै अहिलेको सबैभन्दा उत्तम मार्ग हो । आज मसमेत सहभागी भएको न्यायाधीश र सर्वाेच्च बारका पदाधिकारीको बैठकमा केही न्यायाधीश नआए पनि उहाँहरु भोलिको छलफलमा आउनुहुन्छ भन्ने विश्वास छ ।’ 
 
 
 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x