राजनीति

यसरी बन्यो प्रतिबन्धित नेकपासँग वार्ताको वातावरण

मधुसुधन भट्टराई |
फागुन ८, २०७७ शनिबार १७:३३ बजे

काठमाडौँ : विभिन्‍न चार प्रकारका संयन्त्रमार्फत कुराकानी भएपछि नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपा सरकारसँग वार्ता गर्न तयार भएको छ । तर, उसले वार्ताका लागि पार्टीमाथि लगाइएको प्रतिबन्ध खोल्नु पर्ने सर्त राखेको छ । 

त्यस विषयमा सरकार पनि लचिलो भएको छ । सरकारले चन्दका प्रतिनिधिहरूलाई सहज हुने वातावरण बनाउने बचन दिएको छ । ‘हामीले उहाँहरूलाई सहज हुनेगरी वातावरण निर्माण गर्ने बचन दिएका छौं । कि उहाँहरूका कार्यकर्तालाई पक्राउ नगर्न आन्तरिक सर्कुलर जारी गर्छौ वा प्रतिबन्ध फुकुवा गर्छौ,’ गृह मन्त्रालय स्रोतले भन्यो । यसबारेको निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ । 


स्रोतका अनुसार अहिले चार फरक-फरक संयन्त्रमार्फत प्रतिबन्धित नेकपासँग सरकारले कुराकानी गरिरहेको छ । पहिलो संयन्त्र जेलमा रहेका नेताहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीमार्फत सरकारले कुराकानी गरिरहेको छ । केही समयअघि खानेपानी मन्त्री मणि थापाले नख्खु जेलमा रहेका नेता ओलीलाई भेटेको तथ्य बाहिरिएको थियो ।  

सरकारले अर्कोतर्फ वार्ताको वातावरण निर्माण गर्न भन्दै पक्राउ परेका नेता अनिल शर्मा विरहीलाई छोडेको थियो । ‘नेता शर्मालाई वार्ताको वातावरण निर्माणका लागि भन्दै छोडिएको थियो । उहाँले कन्भिन्स गरेपछि चन्दजी सकारात्मक बनेर विज्ञप्ति जारी गर्नु भएको छ, यसले वातावरण सकारात्मक बनेको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
 
त्यस्तै चन्द र सरकारलाई नजिक्याउन पहिले चन्दको पार्टीका काम गरेका र अहिले अलग भएकाहरूले पनि कुराकानी गरिरहेका छन् । त्यसमा गुणराज लोहनीलगायतका नेताहरू रहेको गृह मन्त्रालय स्रोत बताउँछ । 

अहिले वार्ता कहिले र कसरी गर्ने भन्‍ने विषयमा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीका प्रतिनिधिहरू र चन्दका प्रतिनिधिहरूबीच कुराकानी भइरहेको र त्यसलाई अब मन्त्रिपरिषद् बैठक बस्‍नु अगावै टुंगोमा पुर्‍याइने प्रधानमन्त्री निकट स्रोतले बतायो ।
 
चन्दले शनिबार नै विज्ञप्ति जारी गरेर आफूहरू सरकारसँग वार्ता गर्न तयार रहेको उल्लेख गरेका छन् । तर, भित्र भने प्रतिबन्ध फुकाउन र पक्राउ परेका आफ्ना नेता कार्यकर्ता छोड्नु पर्ने अडान राखिरहेको पनि स्रोतले बतायो । 

र यो पनि...

चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले सरकारसँग वार्ता गर्ने

अनुगमनका लागि गएको थिएँ, विप्लवका नेतासँग भेट भयो : मन्त्री थापा


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x