राजनीति

नेकपा (दाहाल-नेपाल समूह)ले अविश्‍वासको प्रस्तावबारे पुनर्विचार गर्ने

वरिष्ठ नेता खनाल भन्छन् : अविश्‍वासको प्रस्तावबारे पुनर्विचार हुन्छ

इकागज |
फागुन १७, २०७७ सोमबार १५:१७ बजे

काठमाडौँ : नेकपा (दाहाल-नेपाल समूह)ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता गरेको अविश्‍वासको प्रस्तावमा पुनर्विचार गर्ने भएको छ । पछिल्लो समसामयिक राजनीतिक परिस्थितिमा अन्य दलहरूसँग मिलेर मात्रै अविश्‍वासको प्रस्ताव अगाडि बढाउन पर्ने भएकाले पहिला दर्ता गरेको अविश्‍वासको प्रस्तावमा पुनर्विचार गर्ने निष्कर्षमा पार्टी पुगेको हो । 

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा विघटन गर्ने दिन पुस ५ मा दर्ता भएको अविश्‍वासको प्रस्ताव वर्तमान अवस्थामा के गर्ने भन्‍ने विषयमा केन्द्रीय समिति बैठक बसेर तय गरिने बताए । ‘अहिलेसम्म त्यो अविश्‍वासको प्रस्ताव यथावत छ,’ खनालले इकागजसँग भने, ‘त्यसलाई कसरी अगाडि बढाउने भन्‍ने विषयमा केन्द्रीय समितिमा छलफल हुन्छ । प्रस्तावका विषयमा हामी अहिले पनि छलफलमै छौं ।’


अविश्वासको प्रस्ताव पारित गर्न १८४ सांसद आवश्यक पर्छ । आफ्नो पार्टीसँग मात्रै त्यति सांसद नहुने र अन्य दललाई मिलाएर मात्रै त्यो संख्या पुग्‍ने भएकाले यो प्रस्तावलाई थाती राखेर अर्को प्रस्ताव दर्ता गर्ने तयारीमा पार्टी लागेको नेताहरूले बताएका छन् । 

अविश्‍वासको प्रस्तावमा ओलीलाई हटाएर पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएको थियो । अहिले दाहाल-नेपाल समूहका नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता सामाजवादीका नेताहरूसंग सत्ता समीकरणका विषयमा छलफल गरिसकेका छन् ।   
 


Author

थप समाचार
x