राजनीति

‘कानुन कार्यान्वयनमा अनुगमन र खबरदारी आवश्यक’

इकागज |
फागुन १७, २०७७ सोमबार १७:५७ बजे

काठमाडौं : राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले कानुन कार्यान्वयनका लागि निरन्तर अनुगमन र खबरदारी गर्न सञ्‍चारजगतको महत्वपूर्ण भूमिका रहने बताएकी छन् । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सोमबार सिंहदरबारमा आयोजित पत्रकार महिलाहरूसँगको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष दहालले कानुन कार्यान्वयनको अनुगमन गर्ने निकायलाई सञ्‍चारमाध्यमले गर्ने खबरदारी प्रभावकारी हुने बताइन् । 

संसद्ले लैंगिक संवेदनशील र जनमैत्री ऐन कानुन बनाए पनि कार्यान्वयनको पक्ष निकै फितलो रहेको उनको भनाइ छ । पदीय दायित्वले गर्दा संसद्मा आफूले प्रत्यक्ष रूपमा आम चासो, चिन्ताका विषय उठाउन नसकेको दहालले बताइन् । उपाध्यक्ष दहालले लैंगिक विभेद, महिला हिंसाका घटना न्यूनीकरण गर्न आफ्नो ठाउँमा सक्दो कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिन् । 


कार्यक्रममा सहभागी पत्रकार महिलाहरूले नेपालमा कानुन निर्माण पर्याप्त भए पनि त्यसको कार्यान्वयन पक्ष निकै कमजोर रहेको बताएका थिए । 


Author

थप समाचार
x