राजनीति

स्वतन्त्र उम्मेद्‍वारका घोषणापत्र

जनचासोको खोज, दलीय रजगजको विरोध

सुरेन्द्र बजगाईं |
बैशाख १०, २०७९ शनिबार १६:० बजे

काठमाडौँ– स्थानीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिनेहरूको लहर नै चलेको छ । वैशाख ३० गते हुने  हुने स्थानीय चुनावमा उपसचिव, लेखक, सामाजिक अभियन्ता देखि र्‍यापार सम्मले उम्मेदवारी दिने घोषणा गरेका छन् । 

काठमाडौं महानगरपालिकामा र्‍यापर तथा इन्जिनियर बालेन शाहको उम्मेदवारीको चर्चा चुलिँदो छ । अघिल्लो चुनावमा काठमाडौं महानगरबाट २१ वर्षीय रञ्जु दर्शनाले उम्मेदवारी दिएकी थिइन् । उनले मेयरको पद नै नजिते पनि २३ हजार मत पाएर तेस्रो भएकी थिइन । तत्कालीन विवेकशील नेपाली दलबाट उम्मेदवारी दिए पनि स्वतन्त्र व्यक्तिहरूको ठूलो जमातले उनलाई सहयोग गरेको थियो । तर आगामी चुनावमा भने दर्शनाले उम्मेदवारी नदिने घोषणा गरिसकेकी छन् ।


गत चुनावमा रञ्जुलाई समर्थन गरेका युवाहरू अहिलेको चुनावमा बालेन शाह र पूर्व मिस नेवाः सुनिता डङ्गोलका पक्षमा देखिन्छन् । साहले आफ्नो घोषणा पत्र तयारी गर्ने क्रममा छन् । घोषणापत्रमा पानी, स्वास्थ्य, शिक्षा र सम्पदालाई मुख्य एजेन्डा हुने उनी बताउछन् ।

सुनिता डङ्गोल

३० वर्षीय सुनिताले ‘सोसियल वर्कमा’ स्नातकोत्तर गरेकी छन् । सुनिताले काठमाडौंको विकास गर्न ८ खम्बे मोडलसहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । उनको ८ खम्बे विकास मोडेलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, संस्कृति नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एन्ड डेभ्लपमेन्ट समेटिएका छन् ।

उनले ८ खम्बे विकास मोडलको कार्यान्वयनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरूसमेत अघि सारेका छिन् । 

सुशील थापा

काठमाडौं महानगरका लागि उम्मेदवारी दिने अर्का स्वतन्त्र उम्मेदवार हुन्, सुशील थापा । फोहोर नउठ्ने समस्या झेलिरहेको काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहोरलाई गाउँमा लगेर विसर्जन नगर्ने र फोहोरलाई व्यवस्थापन गर्ने उनले आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् । प्राचीन काठमाडौँलाई पुरानो अवस्थामा फर्काउने थापाको  । संस्कृति  र सम्पदाको संरक्षण गर्ने, यातायात व्यवस्थाको परिवर्तन र बस्न योग्य वातावरण बनाउने उनको योजना छ ।

फोहोरबाट आम्दानी गर्न सकिने योजना उनले अगाडि सारेका छन् । थापा नेपाल स्वीस चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्ष तथा गुणस्तर व्यवस्थापन प्रणाली परामर्शदाता हुन् ।

काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहोरलाई गाउँमा लगेर विसर्जन नगर्ने, प्राचीन काठमाडौँलाई पुरानो अवस्थामा फर्काउने,  संस्कृति  र सम्पदाको संरक्षण गर्ने, यातायात व्यवस्थाको परिवर्तन र बस्न योग्य वातावरण बनाउने उनको योजना छ । महानगरपालिका आफैले मेट्रो सिटी अस्पताल सञ्चालन गरी आफ्ना नागरिकलाई सहुलियत दिने उनले घोषणापत्रमा उल्लेख गरेका छन् । 

राजानन्द माण्डव्य 

यस्तै काभ्रेपलान्चोक बनेपा नगरपालिकाको मेयर पदको लागि राजानन्द माण्डव्यले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनी सामाजिक अभियन्ता हुन् । यसका साथै स्मार्ट पालिका, राष्ट्रिय पोशाक घरका सञ्चालक हुन् । 

उनले आफ्नो २० बुँदे योजना अगाडी सारेका छन् । उनको योजनामा एक वडा एक स्वास्थ्य चौकी, एक घरः एक रोजगारी, एकगाँउः एक उद्यम, एक घर एक धारा देखि प्रविधिमैत्री डिजिटल शुसासन प्रणाली र किसानका लागि शीतभण्डार सम्म अटाएको छ । 

गनेस पौडेल

पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारी घोषणा गरेका लेखक गनेस पौडेलले स्थानीय तहलाई स्वतन्त्र बनाउने उद्देश्य रहेको ‘अटेरी अभियान’ अहिले देशभरि फैलिएको छ ।

माघ अन्तिम साता पोखरा महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे । स्थानीय तहलाई स्वतन्त्र बनाउने उद्देश्य रहेको ‘अटेरी अभियान’ अहिले देशभरि फैलिएको छ ।

उनले बनाएको घोषणापत्र नभएर अटेरी अभियानले बनाएको पोखरा विकासको लक्ष्य भएको बताएका छन् । 

‘ती विकासका योजना बनाउनअघि हामीले आम पोखराबासी र विभिन्न क्षेत्रका स्वतन्त्र विज्ञसँग राय सुझाव पनि लिएका थियौँ’ उनी थप्छन्, ‘जनतालाई चाहिएको विकास नदिने तर भ्यू टावर, स्वागत द्वार, अपारदर्शी अनुदान, वितरणमुखी कार्यक्रम लागू गर्ने; सम्भवै नहने पराकाल्पनिक योजना सुनाएर कथित ‘सपना’को रङ दिने राजनीतिक चरित्र विपरीत जनचासोका मूलभूत मुद्दाहरूमा केन्द्रित भई यो योजना पत्र बनाएका छौँ ।’

उनको विकासका योजनामा प्रेम गर्ने ठाउँ देखि महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकमाथि हुने हिंसा रोक्ने, सामाजिक उत्तरदायित्व र नैतिक मूल्यमा ध्यान दिने उल्लेख गरेका छन् । 

उनले पोखरा विकासको अटेरी मोडल तयार पारेका छन् । अभियानले पोखरा लक्ष्य २०७९ को लोगोमा विकास निर्माणको लक्ष्य राखेका छन् । लोगोको अर्थ दिएका छन्, निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन, अर्थात् ‘भाग्य निर्माणमा पर्यटन, अर्जुन दृष्टिमा शिक्षा र स्वास्थ्य, पहिचानमा सुशासन’ । 

माया गुरुङ

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् माया  गुरुङले । उनी विश्व कीर्तिमानी हिमाल आरोही गुरुङ अहिले गाउँ गाउँमा भोट माग्नको लागि घरदैलोमा व्यस्त छिन् । 

विश्वका सात वटै महादेशका हिमाल चढेर विश्व कीर्तिमान राख्न सफल उनले सर्वोच्च शिखर सगरमाथाको पनि सफल आरोहण गरेकी छन् । 

चुनावको लागि आयोगमा ११ र १२ गतेसम्म उम्मेदवार मनोनयन दर्ता सुरु हुँदै छ । उनको केही दिनमा नै घोषणा पत्र तयार हुँदै छ ।  गुरुङले आफू मेयर भएमा आफ्नो पालिकाका १०० प्रतिशत नै युवालाई रोजगारीको अवसर प्रदान गर्ने बताउछिन् । ‘मेरो पालिकामा भएका विभिन्न प्राकृतिक सम्पदा पर्यटकमाझ चिनाउन सकियो भने यहाँका धेरै मानिसले रोजगारीको अवसर पाउँछन् । म यहाँको मेयर नै नहुदा छ यहाँको पर्यटनको लागि काम गरेको थिए ’ उनी भन्छिन्, ‘म ५ वर्षमा ५ लाख पर्यटक आफ्नो गाउँपालिकामा भित्राउनको लागि काम गर्छु ।’

डा. प्रकाश भट्टराई 

डा. प्रकाश भट्टराई मोरङको सुन्दरहरौचा नगरपालिको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारीको सार्वजनिक घोषणा गरेका छन् । पछिल्लो समय पढेलेखेका मानिस राजनीतिमा आउदैनन भन्ने सोच व्याप्त छ । तर भट्टराई भने विश्वका राम्रो नाम चलेका विश्वविद्यालय पढेका युवा हुन् । 

अन्तर्राष्ट्रिय द्वन्द्व व्यवस्थापन विषयमा अमेरिकाको नोट्रेडाम विश्वविद्यालयबाट स्नातकोत्तर, शान्ति तथा द्वन्द्व विषयमा न्यूजिल्याण्डको ओटागो विश्वविद्यालयबाट विद्यावारिधि गरेका भट्टराई सुन्दरहरौचा नगरपालिका मेयरको पदमा उम्मेदवारी घोषणा गरेका हुन् । 

उनी विगत लामो समयदेखि नीति विश्लेषक र अनुसन्धानकर्ताका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्रियाशील थिए ।

भट्टराईले सार्वजनिक नीति, सामाजिक विकास, सङ्घीयता, स्थानीय शासन प्रणाली, द्वन्द्व व्यवस्थापन, मानव अधिकार, सुशासन, लोकतन्त्र, वैदेशिक रोजगारी, लैङ्गिकताजस्ता विधाका साथै सामाजिक–राजनीतिक सवालमा प्राज्ञ, अनुसन्धानकर्ता, नीति विश्लेशक, तथा परियोजना व्यवस्थापकका रूपमा कार्य गरेको २० वर्षभन्दा लामो समय भइसकेको छ ।

‘स्थानीय सरकार सञ्चालनको विगत पाँच वर्षको अनुभवबाट हामीले सिकेको पाठ के हो भने सही नेतृत्व छनौट हुन नसक्दा, त्यसको प्रत्यक्ष असर स्थानीय सरकारले दिने सेवा प्रवाह, विकासका कार्य तथा समग्र शासन प्रक्रियामा नै पर्दो रहेछ’ उनी भन्छन्, ‘स्थानीय सरकार केही सीमित व्यक्ति तथा दलहरूले रजगज गर्ने, नागरिकका गहन प्राथमिकता भन्दा बाहिरका निहीत स्वार्थ पूर्ति गर्ने गरेका छन् ।

विकास योजना मात्र लागु गर्ने प्रणालीलाई बढावा दिने थलोका रूपमा विकास हुँदै गएको गैरहेको छ । यी सबै विसंगतिहरुको अन्त्यको लागि सङ्घीयता, लोकतन्त्र, र नेपालको विकास आयामलाई र राम्रोसँग बुझेका व्यक्ति स्थानीय सरकारको नेतृत्वमा आउनु आजको अपरिहार्य आवश्यकता देखिएको छ ।’

उनको निर्वाचन प्रतिबद्धता चार ‘स’ मा आधारित छ । उनी आफ्नो कार्यकालमा यी चार ‘स’ मा रहेर सुन्दरहरैचा नगरपालिकाको सुशासन, विकास र समृद्धिका लागि पहल गर्ने प्रतिबद्धता पेस गरेका छन् ।


Author

सुरेन्द्र बजगाईं

अर्थतन्त्र र सामाजिक विषयमा कलम चलाउने बजगाईं संवाददाता हुन् ।


थप समाचार
x