राजनीति

दल बदल्नेलाई ‘टिकट’ उपहार

उपेन्द्र अर्याल |
बैशाख १३, २०७९ मंगलबार १४:७ बजे

काठमाडौं–  निर्वाचन नजिकिएलगत्तै पार्टीका नेता कार्यकर्ताहरूको दल बदल्ने होड नै चल्यो । आफ्नो पार्टीले चुनावमा टिकट नदिएपछि उनीहरूले पदीय लोभमा नेताहरूको दल बदल्ने लहर चलेको थियो ।  भयो पनि त्यस्तै जस जसले दल बदले उनीहरूलाई पार्टीले पुरस्कार स्वरुप टिकट दियो । त्यसमध्ये सबैभन्दा रोचक कुरा के रह्यो भने केही जनप्रतिनिधिले उम्मेदवारी दर्ताको अन्तिम दिनै पनि दल बदलेर नयाँ दलबाट उम्मेदवारी समेत दिए । 

ललितपुर महानगरपालिका वडा नम्बर १८ का वर्तमान अध्यक्ष पुरुषोत्तम खड्काले सोमबार वडा १८ को अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनी अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । तर, यसपटक एमाले त्यागेर माओवादीबाट उम्मेदवारी दिएका छन् । उनले सोमबारै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा पुगेर पार्टी प्रवेश गरेका थिए । उनलाई प्रचण्डलगायतका नेताले पार्टीमा स्वागत गरेका थिए । 


एमालेले ललितपर वडा १८ मा उनको सट्टामा दामोदर खड्कालाई उठाउने भएपछि उनी रुष्ट भएका थिए । एमाले विभाजन हुनुअघि दामोदर माधव नेपाल समूहमा थिए । पार्टी विभाजन हुँदा उनी एमालेमै रहेकाले  पुरस्कारस्वरुप दामोदरलाई एमालेले सोही वडाबाट टिकट दिएको हो । अघिल्लो चुनावमा पनि उनी टिकटका आकांक्षी थिए  । त्यसबेला भने पुरुषोत्तमले जितेका थिए ।

तर आफ्नो वडामा राम्रो काम गरिरहेका पुररुषोत्तमले यसपटक पनि दोहोरिने चाहाना राखेका थिए । उनले गठबन्धनको पक्षबाट आफ्नो उम्मेदवारी दिएको बताए । तर उक्त वडामा कांग्रेसले पनि उम्मेदवारी भने दिएको छ ।

यस्तै नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर पदमा रुना झाले आफ्नो उम्मेदवारी दिएकी छन् । उनी यस अघि नेपाली कांग्रेस पार्टीमा आबद्ध थिइन् । तर एमालेले उपप्रमुखको टिकट दिने आश्वासनपछि झाले पार्टी परिवर्तन गरेकी थिइन् ।  झाले सोमबार नै नेपाली कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेकी थिइन् ।

अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टीबाट वीरगञ्जको मेयरमा निर्वाचित विजय सरावगीले निर्वाचन नजिकिएसँगै दल बदलेका थिए । उनले जसपा त्यागेर एमालेमा प्रवेश गराएका थिए । सरावगीलाई एमालेले पुरस्कार स्वरुप पार्टीभित्र निर्विरोध रुपमा मेयरको टिकट दियो । उनले सोमबार आफ्नो दोस्रो कार्यकालका लागि एमालेबाट उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै गठबन्धनको तर्फबाट जसपाबाट उम्मेदवारी दिएका राजेशमान सिंहले पनि अघिल्लो चुनावमा राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेका थिए । उनी गत चैतमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा)बाट जसपा प्रवेश गरेका हुन् । उनलाई पनि जसपाले पुरस्कार स्वरुप गठबन्धनको उम्मेदवारको रुपमा अगाडि बढाएको  हो । 

यी मात्रै होइन, आफ्नो पार्टीले टिकट नदिने निश्चित भएपछि पदीय लोभमा दल बदल्ने अघिकांश कार्यकर्तालाई नयाँ पार्टीले पुरस्कार स्वरुप उम्मेदवारको टिकट दिएका छन् । लामो समयदेखि पार्टीमा योगदान गरेका कार्यकर्ता भन्दा पदीय लोभमा दल बदल्नेहरुलाई पार्टीले धेरै अवसर दिएको छ । राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर राजनीतिलाई व्यवसाय बनाएकाले यस्तो प्रवृत्ति देखिएको बताउँछन् ।

यस्ता जनप्रतिनिधिसँग विचार र सिद्धान्त नहुने भएकाले व्यक्तिगत भलाइमा लाग्ने उनको भनाइ छ । ‘सिद्धान्तसँग जोडिएका मान्छेलाई पो अरुले केही भन्छ भन्ला भन्ने डर हुन्छ,’ उनले भने, ‘तर नेताहरू नाफा कमाउने जस्ता भए । उनीहरू नाफा कमाउन एउटा दलमा नभए अर्कोमा जाने लर्को लागेको छ । यस्ता जनप्रतिनिधिले व्यक्तिगत भलाइ मात्रै सोच्छन् ।’

यो पनि

चुनावको मुखमा ‘आयाराम–गयाराम’ प्रवृत्ति : पदीय लोभमा दल बदल्दै जनप्रतिनिधि


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x