कोशी

कोशी कोभिड विशेष अस्पताल बिस्तार हुँदै

लीलावल्लभ घिमिरे |
कात्तिक २४, २०७७ सोमबार १७:४७ बजे

विराटनगर : प्रदेश सरकारले विराटनगरमा लक्षणसहितका कोभिड संक्रमितहरुको उपचारका लागि थप १ सय श्यैयाको कोभिड उपचार केन्द्र सञ्चालनको तयारी गरेको छ । हाल विराटनगरमा १ सय श्यैयाको कोभिड उपचार केन्द्र सञ्चालनमा छ । प्रदेश सरकारले उक्त स्थानमा थप १ सय श्यैया सञ्चालनको तयारी गरेको हो भने अरु सय श्यैयाको उपचार केन्द्र बनाउने प्रकृया पनि अघि बढाएको छ । 

कोशी कोभिड उपचार केन्द्रमा थप १ सय श्यैया विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको सामाजिक विकासमन्त्री जिवन घिमिरेले बताए । ३५ वटा एच.डी.यू र ६५ वटा जनरल आईसियू बेडसहित विस्तार भइरहेको अस्पतालमा लक्षणसहितका गम्भीर प्रकृतिका बिरामीहरु मात्र भर्ना गरिनेछ । यसै साता भित्र उपचार केन्द्र सञ्चालनमा आउने उनले बताए ।


विराटनगर–१० स्थित कोभिड–१९ उपचार केन्द्रको पछाडिको खाली संरचनामा विस्तार भइरहेको छ । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा केन्द्रको विस्तार गरीएको हो । 

सन्चालनमा आउन लागेको अस्पतालमा विद्युत र खानेपानी जडान, स्वास्थ्य उपकरण खरिदलगायतका काम बाँकी रहेको अस्पतालका ईन्जिनियर रन्जितराज बस्नेतले बताए ।
पछिल्लो समय लक्षणसहितका बिरामीहरु बढ्दै गइरहेकाले प्रदेश सरकारले आईसियू, भेन्टिलेटर र अक्सिजनलगायतका आवश्यक स्वास्थ्य पूर्वाधारसहितको अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । प्रदेश सरकारको १ करोड र नागरिक केयर सेन्टरको १ करोड ५० लाख रुपैयाँ लगानीमा अस्पताल विस्तारको कार्य धमाधम भइरहेको हो । 

अस्पताल सञ्चालनका निम्त्ति आवश्यक स्वास्थ्य उपकरण खरिद गर्न प्रदेश सरकारका तर्फबाट नागरिक केयर सेन्टरलाई थप १ करोड रुपैयाँ  दिइने मन्त्री घिमिरेले बताए । 
यसै गरी दक्षिणतर्फको खाली भवनमा पनि थप १ सय श्यैयाको कोभिड अस्पताल सञ्चालन गर्ने प्रदेश सरकारको योजना रहेको मन्त्री घिमिरेले बताए । 
हाल सञ्चालित केन्द्रमा ५ वटा भेन्टिलेटर र २० वटा अक्सिजन बेड सञ्चालनमा छन् । 

संघीय सरकारले कोरोनाको निःशुल्क उपचारबाट हात झिके पनि प्रदेश १ को सरकार मातहतमा रहेको कोरोना कोभिड उपचार केन्द्रमा निःशुल्क उपचार भइरहेको छ ।


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x