कोशी

पत्रकार महासंघ प्रदेश १ को अध्यक्षमा घिमिरे विजयी

इकागज |
चैत २७, २०७७ शुक्रबार १२:१७ बजे

विराटनगर: नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । निकटतम प्रतिद्वन्दी मोहनकाजी न्यौपानेलाई १९६ मतान्तरले पराजित गर्दै घिमिरे विजयी भएका हुन् । घिमिरेले ७९३ मत प्राप्त गरेर विजयी भए भने न्यौपानेले ५९७ मत प्राप्त गरे । घिमिरे नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाललगायतका संगठनको तर्फबाट उम्मेद्वार बनेका थिए भने न्यौपाने प्रेस चौतारी नेपाल (ओली समूह) बाट उम्मेद्वार बनेका थिए । 

त्यस्तै उपाध्यक्षमा लवदेव ढुङ्गाना निर्वाचित भएका छन् । उनले ८१० मत प्राप्त गरे । उपाध्यक्षका प्रत्यासी उम्मेद्वार रोहित राईले ५९७ मत प्राप्त गरेका थिए । 
महिला उपाध्यक्षमा हिमदेवी चेम्जोङ निर्वाचित भएकी छिन् । उनले ८३६ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी कोकिला ढकालले ५७८ मत प्राप्त गरिन् । महासचिवमा विवेक गौतम ८१९ मत ल्याउँदै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी फिफराज वेघाले ५६२ मत प्राप्त गरेका छन् । 


सचिवमा देवेन्द्र कार्की ८६२ मतका साथ निर्वाचित भए भने उनका प्रतिष्पर्धी अविजाल विष्ठले ५१३ मत प्राप्त गरेका छन् । समावेशी सह सचिवमा सन्तोष यादव ७६१ मत प्राप्त गर्दै विजयी बने भने उनका निकटतम प्रतिष्पर्धी सन्तवीर लामाले ६२६ मत प्राप्त गरे । कोषाध्यक्षमा झापाका विमल लामिछाने निर्वाचित भएका छन् । उनले ८०६ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी सन्तोष रुचालले ५७२ मत प्राप्त गरे । 

त्यस्तै सदस्य पदमा झापाका सुरेन्द्र भण्डारी ८२९, लीलाराज झापाली ८१७,ध्रुव भट्टराई ८०४, तोयानाथ भट्टराई ७३९ र गोपालप्रसाद पोखरेलले ७२५ मत प्राप्त गर्दै विजयी भएका छन् । महिला सदस्यमा विनु तिम्सिनाले ८३८, माला पालुङ्वाले ७९० र सुशीला पाठकले ८४२ मत प्राप्त गर्दै विजयी बनेका छन् । त्यस्तै दलित सदस्यमा विपी दियाली ८२४ मतका साथ निर्वाचित भएका छन् । जनजाति सदस्यमा विष्णु सुव्वाले ८३७ , यमकुमार दनुवारले ६७१ मत प्राप्त गर्दै विजयी बने । 

मधेशी सदस्यमा प्रमोदकुमार यादवले ७९३,व्रम्हदेव यादव ६७० मतका साथ निर्वाचित भए । अल्पसंख्यक सदस्यमा लीलाबहादुर सुनुवार ६५५ मतका साथ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।


Author

थप समाचार
x