कोशी

मेरो थाप्लोमा मात्रै दोष रहेन : पूर्वमुख्यमन्त्री राई

इकागज |
असोज १, २०७९ शनिबार १६:४१ बजे

विराटनगर- प्रदेश १ को नामकरण टुंग्याउन नसकी प्रदेश सभाको पहिलो कार्यकाल सकिएको भन्दै प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राईले त्यसको दोष आफ्नो थाप्लोमा मात्रै नरहेको तर्क गरेका छन् । उनले प्रदेशको राजधानी टुंग्याउन सफल भए पनि नामकरण गर्न नसकेको भन्दै आफ्नो भागमा पर्ने जिम्मेवारी बोक्न तयार रहेको बताएका हुन् ।

प्रदेश १ को संस्थापक मुख्यमन्त्री भएर ३ वर्ष ६ महिना ७ दिन सरकारको नेतृत्व गरेको जानकारी दिँदै उनले नामकरणका लागि पहल गर्दागर्दै पनि सबै दलहरू तयार हुन नसकेको र कोभिड १९ को महामारीले दलहरूबीच बाक्लो छलफल हुनै नसकेको सामाजिक संजालमा उल्लेख गरेका छन् । आफूले सरकार प्रमुखको हैसियतमा छलफल, परामर्श र सहजीकरण गर्ने मात्रै जिम्मेवारीमा रहेको र प्रदेश सभाको दुई तिहाई बहुमतबाट नामकरणको विषय टुंग्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको भन्दै नामकरणको विषयमा कसैले कसैमाथि दोष थोपर्न नहुने भनेका छन् ।


‘म बहाल रहेको बेला प्रदेशले नाम पाएन । तर, मेरो कारणले प्रदेशले नाम नपाएको भने होइन, हामीले राजधानी टुंग्यायौं तर नाम टुंग्याउन दलहरू तयार भएनन्, मैले तोक्ने कुरा थिएन । यो नितान्त प्रदेशसभाको अधिकार क्षेत्रभित्रको कुरा थियो,’ उनले भनेका छन्, ‘मभन्दा पछि दुईजना मुख्यमन्त्री हुनुभो, वहाँहरू रहेको बेला प्रदेशले नाम पाएको भए स्वभाविक रूपमा फलानाले राख्न नसकेको नाम मैले राखे, अथवा उसको पालामा राख्यो भन्ने ठाउँ हुन्थ्यो । बजारमा कुराहरू बिकाउन सकिन्थ्यो, तर वहाँहरू रहेको बेला पनि नाम नआएपछि अब त्यो ठाउँ रहेन र मेरो थाप्लोमा मात्र दोष रहेन ।’

उनले आफू बहाल रहेका बेला प्रदेशको नामांकन हुन नसके वापत आफ्नो भागमा पर्ने जिम्मेवारी बोक्न तयार रहेको कुरा निसंकोच रूपमा व्यक्त गरेको उल्लेख गरेका छन् ।

नामकरणका लागि पहल गर्दागर्दै पनि सबै दलहरू तयार नभएकाले आ–आफ्नै विचार, भावना र मान्यतामा अडीक रहेको र अर्कोतर्फ कोभिड १९ को महामारीका कारण बाक्लो छलफल हुन नसकेको उनले दाबी गरेका छन् । त्यही बीचमा अनपेक्षित रूपमा राजनीतिक घटनाक्रमले सरकार छोड्नु परेको पनि पूर्वमुख्यमन्त्री राईले बताएका छन् ।

आफ्नो कार्यावधिमा इमान्दारितापूर्वक स्वच्छ र निष्कलंकित छविलाई कायम गर्दै जिम्मेवारीमा रहेर काम गरेको उनले दाबी गरेका छन् ।

आफू प्रदेश १ को संस्थापक प्रथम मुख्यमन्त्री भएको र संघीयता कार्यान्वयनका लागि ७ खम्बा मध्ये पहिलो खम्बाको रूपमा काम गर्ने जिम्मेवारी दिएकोमा राईले नेकपा एमालेप्रति धन्यवाद समेत दिएका छन् । आफू मुख्यमन्त्री बन्नका लागि सर्वसम्मत रूपमा दलको नेता हुने स्थिति नभएकाले निर्वाचनको माध्यमबाट चुनिनु परेको सन्दर्भ निकाल्दै राईले दलको नेता चयन गर्न मतदान गर्ने प्रदेश सभाका सांसदहरूलाई विशेष धन्यवाद पनि दिए ।

आफूले कार्यकालको पहिलो एक वर्ष प्रदेशका संरचनालाई उभ्याउने, खुट्टा टेकाउने र हिँडाउने आधार तयार गरेको, प्रदेश संरचनालाई संस्थागत गर्न र प्रदेशको विकास र समृद्विका खाकाहरू कोर्दै थोरै भएपनि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षामा जोडिएर योगदान गरेको पूर्वमुख्यमन्त्री राईले बताए । आफ्नो कार्यकालबाट ६ दर्जन बढी ऐन कानुन र सयौंको संख्यामा कार्यविधि एवं नियमावलीहरूको तर्जुमा गरेको, प्रदेश सरकारका लागि संरचनाहरूको स्थापना गरेको, आवधिक योजनाको तर्जुमा गरेको, प्रदेशभरिमा ६२ भन्दा बढी बहुवर्षीय सडक तथा सडक पुलहरूको निर्माण कार्य सुरु गरेकोमा धेरै जसो सम्पन्न भएको, ८१ भन्दा बढी पालिकाका केन्द्र र महत्वपूर्ण बजार केन्द्र र राजमार्गहरू जोड्ने गरी मुख्यमन्त्री ग्रामीण सडकहरूको निर्माण कार्य अगाडी बढाएको दाबी गरेका छन् ।

आफ्नै नेतृत्वमा विराटनगर–घिनाघाट–हरैचा सडक (फोरलेन) निर्माण भएको, सबैजसो झोलुंगे पुल बनेको, खेलकुद मैदान, रंगशाला, सभा भवनहरू, खानेपानी सिँचाइका ठूल्ठूला आयोजनाहरूको सुरुवात गरेर सम्पन्न हुने प्रक्रियामा रहेको, मुन्दुम ट्रेललगायत पर्यटन पूर्वाधारका आकर्षक पार्कहरू निर्माण गरेको उनले दाबी प्रस्तुत गरेका छन् ।


Author

थप समाचार
x