कोशी

अस्पतालमा कोभिड संक्रमित, आन्दोलनमा डाक्टर-नर्स

विराटनगरस्थित कोभिड-१९ उपचार केन्द्रका स्वास्थ्यकर्मी आन्दोलनमा, भत्ता नपाएको गुनासो

लीलावल्लभ घिमिरे |
बैशाख १३, २०७८ सोमबार १९:४ बजे

विराटनगर : चार महिनादेखि प्रदेशको सामाजिक विकास मन्त्रालयले तलब नदिएको भन्दै विराटनगरको कोसी कोभिड–१९ उपचार केन्द्रमा कार्यरत डाक्टर र नर्स आन्दोलनमा उत्रिएका छन् । डाक्टर र नर्स आन्दोलनमा उत्रिएपछि केन्द्रमा उपचारका लागि भर्ना भएका ३२ जना विरामी जोखिममा परेका हुन् । 

आस्पतालमा कतिपय बिरामी नियमित अक्सिजन दिनुपर्ने खालका छन् । कोभिड महामारीको दोस्रो लहरसँगंै यो प्रदेश–१मा पनि सङ्क्रमितको संख्या ब्यापक भइरहेको छ । उपचार केन्द्रमा ६ जना नर्स, ३ जना परामेडिक्स र ५ जना डाक्टर कार्यरत छन् । अहिले एकजना नर्सबाहेक अन्य सबै काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । 


गएको भदौमा नियुक्ति पाएका डाक्टर, नर्स र पारामेडिक्सलाई प्रदेश–१को सामाजिक विकास मन्त्रालयले कात्तिक महिनापछि तलब र सुविधा नदिएको उनीहरूको भनाइ छ । राज्यले तोकेको न्यूनमत सुविधा माग गर्दा पनि सम्बोधन नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको डाक्टर र नर्स बताउँछन् । करार सकिएपछि पुनःनियुक्ति पाएका उनीहरूले जोखिम भत्ता पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले स्वास्थ्यकर्मीले उठाएको जायज माग प्रदेश सरकारले सम्बोधन गर्ने बताए । काम छाड्ने हुँदा पनि एक्कासी छाड्न नमिल्ने बताउँदै उनले राज्यले तोकेको सुविधा स्वास्थ्यकर्मीले पाउने बताए । ‘हामीलाई थाहै थिएन्,’ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द्र वहादुर कार्कीले भने,‘छलफल भयो, आइतबारसम्मका लागि उहाँहरू काममा फर्किनसक्नु भएको छ, थप छलफल गरेर निर्णयमा पुग्छौँ ।’ 

प्रदेश–१को सामाजिक विकास मन्त्रालयले दोस्रो लहर सुरु भए यता नयाँ संक्रमितको संख्या १ हजार २७ पुगेको जनाएको छ । जसमध्ये विराटनगर महानगरपालिकामा मात्रै ५ सय ९ जना रहेका छन् । आइतबार मात्रै प्रदेश १ मा १२२ जना संक्रमित थपिँदा ७५ जनामा संक्रमित विराटनगरमा भेटिएका हुन् ।

खुल्ला सिमाना र जोगवनी बजारका कारण नेपाल–भारत दोहोरो आवतजावत रोक्न नसक्दा प्रदेश–१को राजधानीसमेत रहेको विराटनगरमा संक्रमण दर उच्च बन्दै गएको छ । प्रदेशमा हालसम्म कोभिड संक्रमितको संख्या ३१ हजार ४ सय ४४ पुगेको छ । संक्रमितमध्ये २९ हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै प्रदेशमा १ हजार १० जना सक्रिय संक्रमित छन् ।

यसैबीच प्रदेश सरकार अन्तर्गतको प्रदेशस्तरिय क्राइसिस म्यानेजमेन्ट कमिटी (पीसीसीएमसी) को पहिलो बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षता बसेको बैठकमा कोभिड भाइरसको नियन्त्रण, रोकथाम र उपचारका लागि प्रदेश सरकारको तहबाट गर्नुपर्ने महत्वपूर्ण कामहरूको विषयमा छलफल भयो।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकासमन्त्री उषाकला राई, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलासहित तिनवटै सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको छ ।


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x