कोशी

प्रदेश १ को चौथो मुख्य न्यायाधिवक्तामा आचार्य नियुक्त

इकागज |
माघ ११, २०७९ बुधबार १५:३२ बजे

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यलाई नियुक्त गरेका छन् ।

झापा बारका पूर्व अध्यक्ष समेत रहेका आचार्य नेकपा एमाले निकट कानुन व्यवसायी हुन् । झापाको झापाको विर्तामोड–५ निवासी आचार्यलाई बुधबार दिउँसो प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधिस सत्यमोहन जोशी थारुले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।


नेपालको संविधान २०७२ को धारा १६० मा प्रत्येक प्रदेशमा एक जना मुख्य महान्यायाधिवक्ता रहने व्यवस्था अनुसार आचार्य  मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन् । मुख्य न्यायाधिवक्ताको नियुक्तिको जानकारी भने प्रदेश प्रमुख कार्यालयले गराउने व्यवस्था रहेको छ ।

प्रदेश १ मा पहिलो सरकारका मुख्यमन्त्री शेरधन राईले विराटनगरका वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए । उनले एमाले नेतृत्वकै भीम आचार्य सरकारसम्म काम गरेका थिए ।

निवर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राईको नेतृत्वमा तेस्रो सरकार बनेपछि आचार्यले ०७८ कात्तिक १७ मा राजिनामा दिएका थिए । 
राईले आफ्नो सुरुवाती कार्यकालमा अधिवक्ता झोजराज श्रेष्ठलाई मुख्य न्यायाधिवक्ता नियुत्त गरे । 

एकीकृत समाजवादी निकट कानुन व्यवसायीहरु भित्र मुख्य महान्यायाधिवक्ता पदका लागि आलोपालोको चर्चा चलेपछि राईले श्रेष्ठलाई हटाएर पार्टी निकटकै अर्का कानुन व्यवसायी परिवर्तन राईलाई नियुक्त गरेका थिए ।


Author

थप समाचार
x