कोशी

कोशी सरकारको समीकरण बदलिँदा असर प्रदेश सभासम्मै

संघीय संसदको विषय प्रदेश सभामा छिरेपछि नियमापत्तिमाथि पनि नियमापत्ति

बाबुराम भण्डारी |
जेठ २३, २०८० मंगलबार १९:१२ बजे

विराटनगर- मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरिएको सत्ता समीकरणको असर प्रदेश सभाको बैठकमा समेत परेको छ । मंगलबारको प्रदेश सभामा विशेष समय लिएर बोलेका नेकपा माओवादी केन्द्रका सभा सदस्य गणेश उप्रेतिले संघीय संसदमा चर्किएको नागरिकता ऐन प्रमाणीकरण र मुर्रा भैंसी प्रकरणमा विषयमा प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति लक्षित गर्दै बोलेपछि कोशी प्रदेश सभाको सत्तासीन दल एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले नियमापत्ति जनाएका हुन् ।

माओवादीका सांसद उप्रेतिले सर्वोच्च अदालतमा विचाराधीन नागरिकता ऐनको विषयमा प्रदेश सभामा नियमविपरीत उठाएको र प्रतिनिधि सभामा भएका घटनाको विषयमा प्रदेश सभामा कुरा उठाएर प्रतिनिधि सभाको विशेषाधिकार हनन गरेको भन्दै भण्डारीले नियमापत्ति गरेका हुन् । उप्रेतिले एमालेप्रति लक्षित गर्दै नागरिकता ऐनको विषयमा राष्ट्रवाद र राष्ट्रघातको विषय उठाइने खेदजनक भएको बताएका थिए ।


उप्रेतिको भनाइसँग असहमत हुँदै एमालेका प्रमुख सचेतक भण्डारीले संसदभित्र के बोल्न पाउने र के नपाउने भन्ने विषयमा हेक्का राख्नुपर्ने बताएका थिए । भण्डारीले त्यस्तो विषयलाई प्रदेश सभाको रेकर्डबाट हटाउन सभामुख बाबुराम गौतम समक्ष माग गरेका थिए ।

उनले नियमापत्ति दर्ज गरे लगत्तै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले उठेर संसदभित्र जेसुकै विषयमा पनि बोल्न पाइने भन्दै भण्डारीको नियमापत्तिमाथि नै नियमापत्ति जनाए । उनले नागरिकताको विषय अदालतको मात्रै नभइ जनताको विषय भएकोले जुनसुकै ठाउँमा पनि उठाउने पाउने जिकिर गरे ।

कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि कृषकको टाउको काटेर आएको अभिव्यक्ति दिए । उनले एमालेका प्रमुख भण्डारी पनि किसानको टाउको काट्ने नेताको पार्टीको भएको भन्दै प्रदेश सभामा के कुरा उठाउन पाउने के नपाउने भन्ने कुरा गरेर बन्देज गर्न नपाइने बताए ।

कार्कीले संसारको जुनसुकै कुनामा भएका विषयहरूमा पनि सभामा उठाउन पाइने जिकिर प्रस्तुत गरे ।

नियमापत्तिका क्रम त्यतिकै रोकिएन, उप्रेतिले प्रदेश सभामा मधेशीले मात्रै नागरिकता नपाएको भन्ने धारणाप्रति राप्रपाकी प्रदेश सभा सदस्य निमसरी राजवंशीले असहमति प्रकट गरिन् । नागरिकताको विषयमा संघीय संसदमा छलफल नभइ राष्ट्रपतिबाट प्रमाणीकरण गरेको र माओवादीका प्रदेश सभा सदस्य उप्रेतिले मधेशीले मात्रै नागरिकता नपाएको अर्थ लाग्ने गरी व्यक्ति गरेको भनाइसँग नियमापत्ति जनाइन् । उनले भारतकै आसाम, नागाल्याण्ड, मणिपुरबाट आएर झापाका विभिन्न ठाउँमा बसिरहेका व्यक्तिहरूको नागरिकताबारे मौन रहेको आरोप लगाइन् ।

राजवंशीले बोलिसके लगत्तै कांग्रेसका सभा सदस्य कार्कीको भनाइप्रति एमालेका प्रदेश सभा सदस्य बिदुर लिंथेपले फेरि काउन्टरमा नियमापत्ति जनाए । सभामुख गौतमले एमाले संसदीय दलको तर्फबाट रामप्रसाद महतोलाई विशेष समयमा बोल्नका लागि आग्रह गर्नै लाग्दा लिंथेपले कार्कीको भनाइप्रति नियमापत्ति जनाए ।

कार्कीले एमालेलाई किसानको टाउको काटेर आएको भन्ने अभिव्यक्ति प्रदेश सभामा दिएको भन्दै लिंथेपले कांग्रेसका नेतालाई प्लेन अपहरण गरेर पैसा लुटेर आएकाले अपहरणकारीको कार्यकर्ता भएको आरोप लगाए । प्रदेश सभामा बिना प्रमाणका विषयमा बोल्न नपाउने भन्दै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने थप नियमापत्ति जनाए ।

यो त्यतिकै रोकिएन, एमालेकी प्रदेश सभा सदस्य मिना श्रेष्ठले पनि कार्कीकै अभिव्यक्तिप्रति नियमापत्ति जनाइन् । उनले व्यक्तिगत रूपमा चरित्रहत्या गर्ने गरी बोलेको भन्दै आक्रोस पोखिन् । उनले विवाह गरेर आउने बित्तिक्कै नागरिकता दिइहाल्नु पर्ने जस्तो गरी माओवादीका सांसद उप्रेतिले अभिव्यक्ति दिएको समेत दाबी गरिन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x