कोशी

एमालेलाई नफकाएसम्म कोशी प्रदेशको पुनःनामकरण हुँदैन : मन्त्री राजभण्डारी

इकागज |
जेठ २७, २०८० शनिबार १६:५३ बजे

विराटनगर- कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश सरकारद्वारा नामकरणसँग असन्तुष्ट पक्षसँग वार्ता गर्न गठित वार्ता समितिका सदस्य बुद्धिकुमार राजभण्डारीले एमालेमाथिको निरन्तरको आक्रमणले आन्दोलनकारीहरूलाई नै थप कमजोर पार्ने बताएका छन् । एमालेमाथि भइरहेको आक्रमणका घटनाले पहिचान पक्षधर समूह नै वार्ताका लागि तयार नभएको पुष्टि हुने उनले बताए ।

संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा पत्रकार महिलाहरूका लागि आयोजित क्षमता विकास तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले एमालेविना कोशी प्रदेश सभामा दुईतिहाई नपुग्ने कुरा स्पष्ट रहेको उल्लेख गरे । एमालेविना नै कोशी प्रदेशको नाम फेर्ने प्रयास सम्भव नहुने उनले जिकिर गरे ।
‘नामको विषयमा सरकारले वार्ता टोली बनाइरहँदा फेरि त्यसै प्रदेश सभाको सदस्यहरूमाथि ढुंगामुढा गर्नुपर्ने हो ? वार्ता गर्न तयार रहेछ त आन्दोलनकारीहरू साथीहरू ? छैन, मेरो बुझाई त्यो रहेन,’ उनले भने, ‘फेरि नामकरणमा त एमाले पनि चाहिएला नि त ? नामकरण यदि दुई तिहाई बहुमतले पारित गर्ने स्थिति सिर्जना गर्ने हो भने नेकपा एमाले नभइ त पक्कै नसच्चिएला ।’ 


उनले आन्दोलनकारी पक्षहरूले एमालेलाई मात्रै निसाना बनाउन खोजेको भए एमाले पनि चुप लागेर नबस्ने बताए । कोशी प्रदेश किराँत वा लिम्बुवानको मात्रै नभइ शेर्पा, खस आर्यहरूको पनि भएकाले एउटै जात केन्द्रित नामकरण असम्भव रहेको बताए ।

मन्त्री राजभण्डारीले सरकारले वार्ता टोली गठन गरिसकेकाले अब वार्ताको वातावरण बनाउन आन्दोलनकारीहरूले पनि वार्ता समिति घोषणा गर्नुपर्ने बताए । उनले सरकार वार्ताका लागि सकारात्मक रहेको स्पष्ट पारे । 

'हामीले वार्तामा बसौँ भनिराखेका छौं, दुई जिब्रे कुरा नगरौं, वार्ता गरौं,’ उनले भने, ‘यदि संविधान र कानुनले त्यसलाई सकारात्मक लिन्छ भने वार्ता टोलीको तर्फबाट हामी सबै कुरामा छलफल गर्न तयार छौं, सरकारको तर्फबाट तयार छौं, त्यसलाई टुंग्याएर जान पनि तयार छौं, होइन बाहिर निस्किनै नहुने झण्डा उखिहाल्नु पर्ने, कालो छार्किहाल्नुपर्ने, मुडा तेर्स्याउनु पर्ने हो भने वार्ताको अर्थ रहँदैन ।’

मन्त्री राजभण्डारीले माओवादी र जसपाले सरकार छाडेपछि वर्तमान सरकार अल्पमतमा परेको कुरालाई स्वीकार गर्दै आफूहरू विश्वासको मत लिने संवैधानिक बाटोतिर अघि बढेको जनाए । उनले कसैले भनेको भरमा राजीनामा दिनुपर्ने वा सरकार छाडिहाल्नु अवस्था नभएको जिकिर गरे । साथै एमाले नेतृत्वको सरकार स्पष्ट रूपमा अल्पमतमा रहेको स्वीकार गर्दै अर्को गठबन्धनलाई ४७ पुर्याएर देखाउन चुनौती दिए ।

‘हामी त विश्वासको मत गुमाएपछि सरकार छोडिहाल्छौं नि, सत्ता छोड्दिन भनेर भन्न पाइन्छ र ?' मन्त्री राजभण्डारीको प्रश्न थियो, ‘हामीले ३० दिनभित्र विश्वासको मत लिन सक्दैनौँ भन्ने कुरा तपाईँहरूलाई पनि थाहा छ, तर तपाईँहरू पनि ४७ पुर्‍याएर देखाउनु न, तपाईँहरू सरकार गठन गर्नुस्, तपाईँहरूले पनि विश्वासको मत पुर्‍याएको हामी हेर्छौं नि त ।’


Author

थप समाचार
x