कोशी

संविधान निर्माणमा एक ठाउँमा उभिएका शक्तिहरू पुनः एउटै थलोमा उभिऔं : मुख्यमन्त्री कार्की

इकागज |
असोज ३, २०८० बुधबार १०:४६ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान निर्माण र परिवर्तनका लागि एक ठाउँमा उभिएका सवै राजनीतिक शक्तिहरू पुनः साझा संकल्पका साथ एउटै थलोमा उभिएर अघि बढ्नुपर्ने बताएका छन् ।

नवौं संविधान दिवसको अवसरमा कोशी प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएर मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व काँधमा आएको बताए । त्यो दायित्व पुरा गर्न संविधान निर्माण र परिवर्तन लागि एक ठाउँमा उभिएका राजनीतिक शक्तिहरूबीच एउटै थलोमा उभिएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताए ।


मुख्यमन्त्री कार्कीले कानूनहरूको अभावमा सङ्घीयताका मर्म र भावना बमोजिम सङ्घ, प्रदेश र स्थानीय सरकारहरूले जनअपेक्षा अनुसार काम गर्न नसकिरहेको बताए । यस्तो अवस्थामा सङ्घीयता कार्यन्वयन गर्न आवश्यक कानूनी र व्यवस्थापकीय प्रवन्ध गर्न पे्ररणा प्रदान गर्ने कुरामा आफु विश्वस्त रहेको उनले बताए ।

नेपालमा संविधान सभाबाट संविधान निर्माण भई २०७२ साल असोज ३ गते अर्थात आजकै दिन  नेपालको संविधान २०७२ जारी भएको थियो । उक्त दिन नेपालीहरूका लागि ऐतिहासिक क्षण भएको भन्दै मुख्यमन्त्री कार्कीले संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको स्पष्ट पारे ।

उनले नवौँ संविधान दिवस मनाइरहेको यस क्षणमा अन्योल र थुप्रै प्रतिकुल संभावनाहरूलाई चिर्दै नेपालको वर्तमान संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रदाञ्जली व्यक्त गरे । 

मुख्यमन्त्री कार्कीले हाल कोसी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले प्रदेशवासीमा सङ्घीयता प्रतिनै वितृष्णा पैदा भएकोतर्फ चिन्ता व्यक्त गरेका थिए । जनतामा देखिएको निराशा र व्यवस्था माथिकै चुनौतिलाई सामना गर्न सहमति र सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । 

‘अहिलेको यस विषम परिस्थितिमा जनभावानालाई बुझेर अघि बढ्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलहरूलाई आव्हान गर्दछु’ उनले भने । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ व्यक्तित्वहरू, कर्मचारी, राजनीतिक दल, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।

संविधान दिवसमा मनाउने प्रदेश सरकारस्तरीय उक्त कार्यक्रममा कोशी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा एकीकृत समाजवादी दलका नेता एव पूर्व मुख्यमन्त्री राजेन्द्र राई लगायतका नेताहरू भने अनुपस्थित थिए ।


Author

थप समाचार
x