कोशी

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

इकागज |
असोज ६, २०८० शनिबार ८:४३ बजे

भोजपुर- खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंकले रैथाने बालीको संरक्षण गर्नेभएको छ । पछिल्लो समयमा यहाँका पोषणयुक्त रैथानेबाली हराउँदै गएकाले यस्ता बालीको संरक्षण गरिने भएको हो । 

भोजपुरका सबै स्थानीय तह, कृषक, कृषि सहकारी लगायतसँगको सहकार्यमा रैथानेबालीको विकास तथा संरक्षण गरिने पत्रकार सम्मेलनमार्फत बैंकका अध्यक्ष शङ्खरनाथ उप्रेतीले बताए । कृषिमा बाहिरबाट हुने आयत घटाएर प्राङ्गारिक उत्पादनमा जोड दिँदै रैथाने बालीको संरक्षण गरिने अध्यक्ष उप्रेतीको भनाइ छ ।


‘‘हाम्रा मौलिक तथा परम्परागत रैथाने बाली लोप भइरहेका छन्’’, अध्यक्ष उप्रेतीले भने, ‘‘यी बालीको संरक्षण गर्दै देशलाई खाद्यन्नमा आत्मनिर्भर बनाउने लक्ष्यले बैंकको स्थापना गरेका हौँ । रैथाने बालीको संरक्षण गरेर सबैको भान्सामा पुर्‍याउने गरी यो बैंकले काम गर्दै आएको छ ।’’

खास गरेर कोदो, फापर, जौ, चिनो कागुनोसँगै धान, मकै, आलुलगायतको पनि रेथाने बालीको खोजी तथा संरक्षण गरिने उनको भनाइ छ । किसानले उत्पादन गरेको बालीको बजारीकरणको जिम्मा  बैंकले लिनेसमेत उनको भनाइ छ । किसानलाई उत्पादन, श्रम र शेयरमा जोडेर यसलाई आफ्नै बैंकको अपनतो दिलाउने अध्यक्ष उप्रेतीले जानकारी दिए । भोजपुरमा पनि कार्यालय स्थापना गरेर यसको संरक्षणमा जुटेको बैंकले जनाएको छ । 

यहाँ नौ वटै स्थानीय तहका ८१ वटा वडामा कृषि लक्षित कार्यक्रम गरिने बंैकले जनाएको छ । ‘‘भोजपुरको सबै भुगोलको माटो परीक्षण पश्चात खेती विस्तारमा जुट्छौँ’’, अध्यक्ष उप्रेतीले भने, ‘‘यहाँको भूगोल र माटो सुहाउँदो बालीको उत्पादनमा जोड दिन्छौँ ।’’

कृषिलाई सम्मानित र मर्यादित पेशा बनाएर कृषकको आर्थिक अवस्थामा परिवर्तन गर्दै समृद्धिको अभियानमा जुट्ने जनाइएको छ  ।  कृषिको माध्यमबाट मुलुकमा रोजगार सिर्जना गर्ने, यस क्षेत्रमा लागेका वैज्ञानिक एवं प्राविधिकको सहयोगमा आधुनिक प्रविधिको प्रयोग गर्दै कृषिको आधुनिकीकरण गरिने बैंकका अध्यक्ष उप्रेतीले जानकारी दिए । उत्पादक र उपभोक्ता सिधैँ बैंकसँग जोडिने भएकाले कृषकहरुले बिचौलियाको मारबाट उन्मुक्ति पाउने उनको भनाइ छ । 

बैंकले कृषि क्षेत्रमा जोडिएका कृषि कम्पनी, कृषि सहकारी, सरकारी एवं गैरसरकारी संघसंस्थालगायतसँग सहकार्य गरेर उत्पादनमा वृद्धि गर्ने जनाएको छ । बाँझो, खाली तथा प्रयोगविहीन जमिनको सदुपयोग गर्दै गुणस्तरयुक्त खाद्यान्न, तरकारी, जडीबुटी, चिया, कफी, अलैँची, माछामासुलगायतमा देशलाई आत्मनिर्भर बनाउने बैंकको भनाइ छ । 

जनस्तरबाट रु दुई अर्ब लगानीमा स्थापना भएको बैंकले हालसम्म २२ वटा जिल्लामा कृषिको क्षेत्रमा काम गर्दै आएको अध्यक्ष उप्रेतीले जानकारी दिए । कोशी प्रदेशका भोजपुरसहित पाँच वटा जिल्लामा कृषिसम्बन्धी काम गर्ने जनाइएको छ । रासस


Author

थप समाचार
x