कोशी

माछा, मासु र डेरी उद्योगलाई कारबाही

इकागज |
असोज १०, २०८० बुधबार २२:१७ बजे

जनकपुरधाम -जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा मापदण्ड विपरीत सञ्चालित  माछा, मासु तथा डेरी उद्योगहरूलाई कारबाही गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा विभिन्न निकायहरूको सहभागितामा बुधबार भएको अनुगमनको क्रममा गुणस्तरहीन मासुको बिक्री गर्ने दुई वटा पसलबाट २७ किलो मासु नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।


जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं २, ४ र १४ मा रहेको १४ वटा मासु पसलको अनुगमन गर्दा मापदण्ड विपरीत गुणस्तरहीन मासु बिक्री गरेको पाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक डा. सञ्जीव ठाकुरले जनाएका छन् ।  जनकपुरधामको हकिम मासु पसलबाट १३ किलो र सफीद मासु पसलबाट १४ किलो मासु नियन्त्रणमा लिएर नष्ट गरिएको जनाइएको छ ।

अनुगमनको क्रममा १४ वटा मासु पसल मध्ये ३ वटा दर्ता नभएको पाइएकाले ती पसलका सञ्चालकलाई ७ दिनभित्रमा दर्ता गरेर आवश्यक कागजपत्र लिएर कार्यालयमा उपस्थित हुनका लागि निर्देशन दिइएको केन्द्रका प्रमुख डा. ठाकुरले बताए । यसका साथै अधिकांश मासु पसलले मूल्य सूची नराखेकाले मूल्य सूची राख्नका लागि निर्देशन दिइएको छ । 

अनुगमन टोलीले जनकपुरधामस्थित डेरी उद्योगहरुमा समेत अनुगमन गरेका छन् । ती टोलीले माँ जानकी डेरीको दूध, दही तथा घ्यु परीक्षणका लागि नमूना सङ्कलन गरेर प्रयोगशालामा पठाएको छ । जनकपुरधाममा व्यवस्थित माछा, मासु बिक्री गर्ने पसल नभएका कारणले यसले नकारात्मक असर आम उपभोक्ता गुनासो आइरहेकाले अनुगमन गरिएको डा. ठाकुरले बताए । 

अनुगमनको क्रममा सरसफाइमा तत्काल सुधार गर्नका लागि व्यवसायीहरूलाई निर्देशन दिएका छन् भने अर्को पटक अनुगमन गर्न आउँदा सरसफाइ नभएको खण्डमा कडा कारबाही गरिने चेतावनी दिइएको छ । पशुको वध व्यवस्थित तरिकाले गर्न तथा मासुको बिक्री एवं भण्डारण वैज्ञानिक विधिद्वारा गर्न समेत अनुगमन टोली पदाधिकारीहरूले माछा मासु विक्रेताहरुलाई दिएका छन् । 

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय, मधेश प्रदेशका पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रतिनिधि, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 


Author

थप समाचार
x