कोशी

एमाले कोशीमा पराजित ढकालको पत्रकार सम्मेलन

'जितेकालाई बधाई दिन पाइएन, बीचका नेताबाट कार्यकर्ता धम्क्याउने काम भयो'

बाबुराम भण्डारी |
असोज १८, २०८० बिहीबार १४:५९ बजे

विराटनगर- नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा पराजित भएका विनोद ढकालले अधिवेशनबाट निर्वाचित भएका नेताहरूलाई औपचारिक रूपमा बधाई दिने अवसरबाट आफूलाई वञ्चित गरिएको गुनासो गरेका छन् । उनले प्रदेश कमिटीका नवनिर्वाचित नेताहरूको शपथ ग्रहण समारोहमा आफूलाई बोल्ने अवसर नदिइएको भन्दै पत्रकार सम्मेलन गरेर निर्वाचितहरूलाई बधाई दिनुपरेको बताएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा अध्यक्षको उम्मेदवार बनेका एमाले नेता घनश्याम खतिवडासँग ८२ मतले ढकाल पराजित भएका थिए । सचिवमा ढकालको समूहबाट उम्मेदवार रहेका शैलेस लामा पनि पराजित भए ।


ढकालले बिहीबार एमाले मोरङको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर आफूलाई मतदान गर्न चाहने पार्टीका नेता कार्यकर्ताहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको हवाला दिएर केही स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरू र बीचको तहका नेताहरूले धम्क्याउने थर्काउने काम गरेको आरोप लगाए ।

अध्यक्ष पदको निकटतम् प्रतिस्पर्धीको नाताले नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोहमा निर्वाचितहरूलाई बधाई, धन्यवाद तथा आभार प्रकट गर्न पाइन्छ कि भन्ने ठानेकोमा त्यस्तो अवसर नपाएकोमा ढकालले दुखी देखिए । सोही कारण पत्रकार सम्मेलन गरेर विचार सार्वजनिक गर्नुपरेको बताए ।

‘हिजो बधाई दिन पाइएन, आज दिऊँ भनेर पत्रकार सम्मेलनमार्फत बधाई दिन खोजेको हो,’ ढकालले भने, ‘विजयी र पराजयी सबैले हार्दिकतापूर्वक परिणामलाई स्वीकार गरेका छन्, यस अर्थमा निष्पक्षतापूर्वक निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग र उक्त जिम्मेवारीमा रहनुहुने सबै कमरेडलाई पनि धन्यवाद दिन चाहन्छु ।’

ढकालले पार्टीभित्र लोकतन्त्र अनुकूलका संरचनाको व्यवस्था गरिएकोले सोहीभित्र रहेर आफूले नेतृत्वका लागि प्रतिस्पर्धा गरेको जानकारी दिए । तर, कोशी प्रदेशको प्रथम अधिवेशनमा पार्टीको मूल सिद्धान्त र पार्टी विधानको भावना विपरीत केही केन्द्रीय नेताहरूले अमुक उम्मेदवारको पक्षमा लागेर कार्यकर्तालाई डर, त्रासमा पारेर भोट माग्ने र अर्को उम्मेदवारलाई तिरस्कार गरेको व्यवहार खुल्लमखुल्ला देखिएको उनले दाबी गरे ।

‘पार्टी स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यहरूले नै खुलेआम रूपमा अमुक उम्मेदवारको पक्षमा भोट माग्ने र अर्को उम्मेदवारलाई घेराबन्दी गर्ने काममा नियोजित रूपमा लागेका मात्र होइन आफूखुसी गरिरहेको त्यो कर्ममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम जोडेर प्रचारबाजी गर्न समेत भ्याउनुभयो,’ ढकालले भने, ‘उहाँहरूको त्यस्तो व्यवहारबाट पार्टी अध्यक्ष जस्तो संस्थालाई विवादमा पार्ने काम भएको छ भने पार्टीभित्रको प्रतिस्पर्धालाई अस्वस्थ र दबाबमूलक बनाएको छ, के हामीले चाहेको यस्तै नियन्त्रित लोकतन्त्र हो ? के पार्टी अध्यक्षको नजरमा कोही कार्यकर्ता नजिक र कोही टाढाको हुनसक्छ ?’

ढकालले पञ्चायत विरोधी आन्दोलनको रापतापबाट राजनीतिक जीवन सुरु गरेर अहिलेसम्म पार्टीले दिएको कुनै पनि जिम्मेवारी पूरा गर्न कसर बाँकी नराखेको बताए । आफूले पार्टी संकटमा परेको बेलामा एकीकृत बनाई राख्न दिल दिमाग लगाएर र जुनसुकै चुनौतीको सामना गर्दै योगदान गरेको दाबी गरे ।

आफूले लोकतान्त्रिक प्रक्रियाबाट आएको परिणामलाई स्वीकार गरेर अघि बढ्ने र आगामी दिनमा नव निर्वाचित नेतृत्वलाई पनि सहयोग रहने विश्वास व्यक्त गरे ।

‘प्रदेश अधिवेशनमा नेतृत्वको घेराबन्दी र त्रासलाई चिर्दै मतदानमा संलग्न हुने, प्रचारमा संलग्न भई भोट माग्ने र विजयी गराउने उद्देश्यबाट अहोरात्र खट्ने सबै नेता, कार्यकर्ता, अग्रज तथा सहयोद्ध कमरेडहरूप्रति आभार व्यक्त गर्दछु,’ उनले भने, ‘म तत्काल पार्टीको कुनै जिम्मेवारीमा छैन तर पनि पार्टीको एक कार्यकर्ताको हैसियतले म सदैव पार्टी काममा सक्रिय रहनेछु ।’

साथै ढकालले पार्टीलाई गतिशील र सशक्त बनाउने उद्देश्यले कुनै भेदभाव वा आग्रह नराखी आफूलाई सहयोग गर्ने नेता कार्यकर्ताहरूलाई समेत कामको जिम्मेवारी दिन र पार्टी काममा उनीहरूको योगदानको सदुपयोग गर्न नेतृत्व समक्ष आग्रह गरे । 

‘भेदभावपूर्ण व्यवहार भएमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन सत्रमा ‘स्वस्थ प्रतिस्पर्धा र प्रतिस्पर्धापछि सौहार्दता हुनुपर्दछ,’ भनी दिएको सन्देशको बर्खिलाप हुने कुराप्रति सजग गराउन चाहेको बताए । उनले त्यस्तो व्यवहार भएमा विभेदमा परेका नेता कार्यकर्ताको संरक्षणका लागि मैले नैतिक रूपमा आवाज उठाउने चेतावनी पनि दिए ।

उनले शपथ ग्रहण समारोहमा पार्टी अध्यक्ष ओलीले निर्वाचनमा धाँधली भएको भन्ने अभिव्यक्ति दिएका कारण निर्वाचित कमिटी निष्पक्ष ढंगले निर्वाचित नभएको हो कि भन्ने सन्देश गएको बताए । ढकालले भने, ‘पार्टी अध्यक्षले निर्वाचनमा धाँधली भयो भनेर नबोल्नु भएको हुन्थ्यो, त्यसले राम्रो सन्देश दिएन ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x