कोशी

माओवादीका आङ्बोलाई नवनियुक्त मुख्यमन्त्री कार्कीको सान्त्वना

'गठबन्धनको मात्रै संख्याले मध्यावधिमा जाने सम्भावना थियो'

बाबुराम भण्डारी |
असोज २७, २०८० शनिबार १६:२० बजे

विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशलाई मध्यावधिमा जानबाट रोक्नका लागि सांसदहरूले एकता प्रदर्शन गरेका कारण आफू मुख्यमन्त्री बनेको बताएका छन् । गठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवार बनाइएका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोप्रति संकेत गर्दै मुख्यमन्त्री कार्कीले मध्यावधिमा जानबाट रोक्नका लागि मात्रै आफूले पार्टीभित्रैबाट यस्तो कदम उठाउनु परेको बताएका हुन् ।

२९ सिट रहेको कांग्रेसबाट शेखर कोइराला समूहबाट ८ सांसदसहित विद्रोह गरेका कार्कीले नेकपा एमालेका ३९ सांसदको समर्थनमा बहुमत संख्या ४७ प्राप्त गरी शनिबार बिहान मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 


प्रदेश प्रमुख परशुराम खापुङ्गले ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या ४७ जनाको सनाखत भएको भन्दै कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएपछि सञ्चारकर्मीहरूसँग संवाद गर्दै मुख्यमन्त्री कार्कीले राजनीतिक पार्टीको निर्णयभन्दा पनि सांसदहरूको सामूहिक पहलबाट आफू मुख्यमन्त्री बनेको दाबी गरेका थिए ।

‘इन्द्र आङ्बो मेरो असल मित्र हुनुहुन्छ, संसद्‌मा पनि सुरुदेखि नै छौं, तर मध्यावधि रोक्नका लागि हामीले एउटा कदम उठाउनु पर्यो, त्यो पनि मैलेभन्दा हामी सांसदहरूको पहल हो,’ मुख्यमन्त्री कार्कीले भने, ‘यहाँ पार्टीगत रूपमा भन्दा सांसदहरूको सामूहिक अठोटबाट यो सरकार बनेको हो, अन्यथा वहाँहरूले पनि लिनुहुन्न ।’

मुख्यमन्त्री कार्कीले सरकार गठनका लागि को–को सँग मिलेर अघि बढ्ने भन्ने विषय पछि टुंगिने बताए । आफू संविधान र ऐन कानुनले दिएको मुख्यमन्त्रीको भूमिकामा रहेर काम गर्ने प्रतिवद्धता जनाए । शपथ ग्रहण गरिसकेपछि आफ्नो केही प्राथमिकताहरू सार्वजनिक गर्ने कार्कीले जानकारी दिए ।

पार्टी संस्थापनको निर्णयलाई उछिनेर कांग्रेस नेता डा. शेखर कोइरालाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले आफ्नो पार्टीले संविधान मान्ने र संविधानवादमा विश्वास गर्नेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिए । 

‘पार्टीले संविधानसम्मत गरेको कामकारबाहीलाई सकारात्मक रूपमा लिन्छ भन्ने मलाई लाग्छ, कहिलेकाँही अस्वाभाविक जस्तो देखिन्छ तर रिजल्ट आएपछि पार्टीले स्वाभाविक रूपमा आत्मसात गर्छ भन्ने मलाई लाग्छ,’ उनले भने, ‘गठबन्धनको मात्रै सांसदको सङ्ख्याले मध्यावधिमा जाने बाटो देखिएको थियो, त्यो कुरा अघिल्लो दुई चोटीको प्राक्टिस गर्दा पनि देखिइसकेको छ, मैले सांसदहरूको एकरूपता देखाएर मध्यावधि रोक्ने बाटो खोजेको हो ।’

कार्कीले गठबन्धनभित्रको उतार चढाव विगत चुनावदेखि नै हुँदै आएको दाबी गरे । मध्यावधि रोकेर जनतामा आशा जगाउने खालको काम गर्नुपर्ने क्षणमा आफू आइपुगेको बताए । उनले कोशी प्रदेशमा कांग्रेसको सांसद मुख्यमन्त्री हुने तर पार्टी प्रतिपक्षमा हुने अवस्था आएको हो भन्ने प्रश्नमा भने, ‘धैर्य गर्नुस्, पार्टी पनि लाइनमा आउँछ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x