कोशी

कोशीका मुख्यमन्त्री कार्कीलाई आठ मन्त्रालयको भार

बाबुराम भण्डारी |
असोज २९, २०८० सोमबार ११:१९ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पहिलो सरकार गठनमा नियुक्त गरेका दुई मन्त्रीको कार्यविभाजन तोक्न नसक्दा एक्लैले आठ वटा मन्त्रालय सम्हाल्नु परेको छ ।

आइतबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका मुख्यमन्त्री कार्कीले उनलाई मुख्यमन्त्री बन्न बलियो भर्‍याङ बनेको एमालेबाट संसदीय दलका उपनेता राम बहादुर राना र पार्टी संस्थापनको चर्को  दवाब छिचोलेर आफूलाई साथ दिएका शम्शेर राईलाई विनाबिभागीय मन्त्री नियुक्त गरेका छन् ।


शनिबार मुख्यमन्त्री नियुक्त भएलगत्तै काठमाडौं पुगेर इतर समूहका नेता डा.शेखर कोइरालासँग पहिलो भेट गरेका कार्कीले त्यसपछि सभापति शेरबहादुर देउवा र आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमै पुगेर भेटेका थिए । 

त्यसपछि विराटनगर फर्किएका मुख्यमन्त्री कार्की र एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीबीच कोशी प्रदेश सरकार गठनका विषयमा केन्द्रीय नेतृत्वको ब्रिफिङ अनुसार छलफल भएको थियो । 

छलफलमा सकेसम्म दुई–दुईजना मन्त्रीको कार्यविभाजन सहित सपथ ग्रहण गर्ने विषयमा कुराकानी भए पनि अन्तिममा मुख्यमन्त्री कार्कीले विनाबिभागीय दुई मन्त्रीमात्रै नियुक्त गरेका थिए । 

एमालेले रानासहित अघिल्लो सरकारमा १२ दिन भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका झापाका एकराज कार्कीलाई समेत मन्त्रालयको जिम्मेवारी दिने गरी मुख्यमन्त्री कार्कीसँग सम्वाद गरेको स्रोतको भनाई छ । 

तर मुख्यमन्त्री कार्कीले कांग्रेसभित्रका अन्य सांसदलाई मन्त्री बनाउने वा आफ्नो समूहकै ८ सांसद मध्येबाट कसैलाई मन्त्री नियुक्त गर्ने भन्ने विषयमा ठोस निर्णयमा नपुगेका कारण सपथ ग्रहण गरेका दुई मन्त्रीहरुले समेत मन्त्रालयको जिम्मेवारी पाउन सकेनन् ।

मन्त्री राना र राईको कार्यविभाजनमा बिनाबिभागीयमा सिमित हुँदा मुख्यमन्त्री कार्कीले भने बाँकी आठवटा मन्त्रालयको जिम्मेवारी एक्लै सम्हालेका हुन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङ्गको उपस्थितिमा प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र कुमार श्रेष्ठले कार्कीको जिम्मेवारीमा मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग, कृषि तथा सहकारी, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय रहेको जानकारी गराए । त्यसैगरी पर्यटन, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास, सामाजिक विकास र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री कार्कीसँगै रहेको जानकारी दिए । 

कोशी प्रदेशमा सत्ता गठबन्धन तोडेर कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्न सफल भएका कार्कीले नियुक्त गरेका दुई मन्त्रीहरु राना र राई भने संयोगवश् इलामका परेका छन् । 

रानामा प्रदेश सभामा दोस्रो कार्यकालका लागि इलामको क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए । त्यसैगरी कांग्रेसका राई इलामकै क्षेत्र नम्बर १ (२) बाट निर्वाचित भएका हुन् ।

यसअघि उद्वव थापाले आर्थिक मामिला तथा योजनामन्त्रीमा सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम र खानेपानी, सिंचाई तथा उर्जा मन्त्री नियुक्त भएका कांग्रेसका प्रदीप सुनुवार पनि एउटै जिल्ला ओखलढुंगाबाट थिए ।

कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई मुख्यमन्त्री बनाउन ४० सिट रहेको एमालेले उपसभामुखबाहेक बा“की ३९ सिटको समर्थन प्राप्त छ । कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसका विद्रोही ८ सांसदभन्दा एमालेका सांसदहरु उत्साहित देखिन्थे । 

शनिबार प्रदेश प्रमुखको कार्यालयमा सनाखतका लागि तोकिएको ८ बजेभन्दा अगावै एमालेका सांसदहरु उपस्थित भएका थिए ।

कांग्रेस नेता डा.शेखरसँगको संगतमा राजनीतिक भूमिका बढाउँदै गएका मुख्यमन्त्री कार्कीले कोइराला खेमाका ८ सांसदको समर्थनमा एमालेसँग मिलेर प्रदेश सभाको बहुमत संख्या ४७ पुर्‍याएर बिहीबार मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका थिए । 

सत्ता गठबन्धनबाट मुख्यमन्त्री दाबी गरेका आङ्बोले पनि कांग्रेसका सबै २९ सांसदको समर्थनमा ४७ सिट पुगेको दाबी पत्र प्रदेश प्रमुख समक्ष बुझाएका थिए । तर उक्त दाबीमा कांग्रेसबाट बुझाइएको सांसदहरुको नाम र हस्ताक्षरसहितको समर्थन फर्जी भएको भन्दै मुख्यमन्त्रीका दाबेदार कार्की स्वयंले प्रतिक्रिया दिएपछि कार्कीका सामू आङ्बो निरीह बन्न पुगेका थिए ।

कार्कीको पक्षमा स्पष्ट बहुमत पुग्ने अवस्था बनेपछि आङ्बोले आफुले प्रस्तुत गरेको दाबीको सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयमै उपस्थित भएनन् । कार्कीको पक्षमा ४७ सांसदको सनाखत भएकोले प्रदेश सभाको बहुमत सिद्ध भएको घोषणा गर्दै प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x