कोशी

श्रमदानको चलन पुनः ब्युँतिदै

इकागज |
कात्तिक ३, २०८० शुक्रबार १०:४० बजे

फुङ्लिङ- ताप्लेजुङमा पछिल्लो समय जनश्रमदान गर्ने चलन विकास हुँदै गएको छ । श्रमदान गर्ने चलन हराउँदै गइरहेको समयमा हाल स्थानीय तहका जनप्रतिनिधि स्वयं अग्रसर हुन थालेपछि पुनः श्रमदान गर्ने संस्कार मौलाउँदै गएको हो ।

स्थानीय तहका पदाधिकारी हुँदै वडा–वडाका जनप्रतिनिधि श्रमदान गर्नमा अग्रसर हुन थालेसँगै गाउँगाउँमा भौतिक पूर्वाधारसहितका निर्माण कार्य श्रमदानमार्फत गर्न थालिएको छ । अहिले एक अर्को स्थानीयबीचमा प्रतिस्पर्धाझैँ श्रमदानमार्फत सडक, पुलपुलेसा, गोरेटो बाटो, खेलमैदान निर्माणदेखि सार्वजनिक सम्पत्ति तथा स्थलको सरसफाइलगायतका कार्य गरिँदै आएको छ ।


जिल्लाको मैवाखोला गाउँपालिकाले लाखौँ रुपियाँ खर्च हुनसक्ने काम पहिरो पीडितका लागि अस्याथी आवास घर निर्माणको कार्य श्रमदान गरेरै सम्पन्न गरेको छ । साँघुका पहिरो पीडित ६५ परिवारलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न गाउँपालिकाले ६५ अस्थायी आवास घर श्रमदानबाटै निर्माण गरी सम्बन्धित पीडित परिवारलाई हस्तान्तरण पनि गरिसकेको छ । 

यस्तै बर्खा मौसममा बाढीपहिरोले क्षति गरेको मोटरेवल पक्की पुल, अस्थायी काठेपुल, सडकजस्ता क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःनिर्माण कार्य पनि श्रमदानमार्फत नै गरी सञ्चालनमा ल्याएका छन् । जिल्लाका नौवटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा भएका सार्वजनिक महत्वका क्षतिग्रस्त संरचनाको मर्मत सम्भारका कार्य श्रमदानबाट नै गरिरहेका छन् । 

फक्ताङ्लुङ गाउँपालिकाले यातायात नै अवरुद्ध हुने गरी सिस्ने खोलामा बाढी आएर बगाएको काठेपुल श्रमदानबाटै पुनः निर्माण गरी सडक सञ्चालनमा ल्याएको छ । आठराई त्रिवेणी , मैवाखोला र मेरिङ्देन गाउँपालिका जोड्ने मैवाखोलास्थित पक्की पुलको दायाँ–बायाँ सडकसमेतमा बाढी पहिरोले क्षतिग्रस्त बनाएपछि श्रमदानमार्फत नै पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै बाढीले क्षतिग्रस्त बनाएको जिल्लाको पूर्वी सिदिङ्वा गाउँपालिका र पाँचथरको थर्पु जोड्ने इन्द्रावती खोलाको पुललाई श्रमदानमार्फत नै मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको छ ।

त्यसैगरी बर्खा मौसम असार र साउन महिनामा बाढीपहिरोले जिल्लाका अधिकांश ग्रामीण सडकमा क्षति गरेको र उक्त क्षतिग्रस्त सडक श्रमदान गरेरै पुनर्निर्माण साथै मर्मत गरेर हाल सञ्चालनमा ल्याएका छन् ।

सम्बन्धित स्थानीय तहसँग भएको स्काभेटर, जेसिभीलगायतका उपकरण प्रयोग गरेर साथै जनप्रतिनिधि र स्थानीय सर्वसाधारणसमेको सहभागितामा श्रमदान गरिँदै आएको छ ।    
 
यता नेपालीको मुख्य चाड दसैँ–तिहार नजिकिएसँगै आजभोलि श्रमदान गर्ने कार्य तीव्ररुपमा हुन थालेको छ । प्रत्येक वडा तथा टोल–टोलका नागरिक जुटेर बाटोघाटो, पुलपुलेसा, पाटीपौवालगायतका सार्वजनिक संरचना तथा स्थलको पुनःनिर्माण, मर्मत र सरसफाइका कार्यहरु श्रमदानमार्फत गरिँदै आएको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै स्थानीय तह र वडामा धमाधम श्रमदान गर्ने चलन ब्युँतिदै गएको छ । रासस


Author

थप समाचार
x