कोशी

श्रीमान्‌ले प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु

इकागज |
कात्तिक १०, २०८० शुक्रबार १०:३७ बजे

सांकेतिक तस्बिर

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ । 

मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमान्‌ले गए राति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो । 


श्रीमान्‌–श्रीमतीबीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए । हत्या गर्ने श्रीमान्‌लाई गए राति नै खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।  

शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीले बताए । बुधबार पनि विवाद भएपछि आफ्नो घर छाडेर मूलघर गएर बसेकी श्रीमतीलाई त्यही पुगेर श्रीमान्‌ले चिर्पट प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । 

मृत श्रीमतीको शव परीक्षणका लागि गए राति नै जिल्ला अस्पतालमा लगिएको थियो । शेर्पा दम्पतिका दुई छोरी छन् । 

यसैबीच जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाकी २६ वर्षीया एलिना मगरको मृत्यु भएको छ । दशमीका दिन घाँस काट्ने क्रममा भिरबाट लडेर ज्यान गुमाएकी उनको शव जिल्ला अस्पतालमा लगेर परीक्षण गरेपछि बिहीबार अन्तिम दाहसंस्कारका लागि प्रहरीले आफन्तलाई जिम्मा लगाएको थियो । रासस


Author

थप समाचार
x