कोशी

यो सरकार विदेशीका लागि मात्रै कम्फर्टेबल : महासचिव पोखरेल

इकागज |
कात्तिक २५, २०८० शनिबार २१:२२ बजे

विराटनगर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विदेशीका लागि मात्रै कम्फर्टेबल भएको आरोप लगाएका छन् । उनले मुलुकले अहिलेसम्मकै कमजोर सरकार बेहोरिरहनु परेको भन्दै कमजोर सरकार विदेशीका लागि मात्रै कम्फर्टेबल हुने दाबी गरे ।

नेकपा एमाले मोरङले शनिबार विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यो सरकारले विकास र समृद्धिको ठोस कुनै पनि काम गर्न नसक्ने बताए ।


कुनै पनि सरकारले पाँच वर्ष पूरा गर्न नसक्ने गरी जनादेश प्राप्त भएको भन्दै त्यसको उदाहरण कोशी प्रदेश भएको पनि उनले दाबी गरे ।

‘यस्तो कमजोर जनादेशको सरकारले विकास र समृद्धिको काम गर्नै सक्दैन, हामी अत्यन्तै कमजोर सरकार बेहोरिरहेका छौं,’ महासचिव पोखरेलले भने, ‘कमजोर सरकार विदेशीका लागि मात्रै कम्फर्टेबल हो, यो सरकार नेपाली जनताको कम्फर्टेबल होइन ।’ उनले एमाले जनताले पत्याएको पार्टी भएर पनि शासन सत्ता बाहिर बस्ने अवस्था २०७९ को निर्वाचनको अस्थिर जनादेशका कारण उत्पन्न भएको जिकिर गरे ।

‘सात वटा प्रदेशहरू मध्ये ६ वटामा एमालेले समानुपातिकतर्फको लोकप्रिय पहिलो मत प्राप्त गर्यो, ७७ जिल्ला मध्ये ४४ वटामा पहिलो मत प्राप्त भयो तर पनि हामी सरकारमा छैनौँ,’ उनले भने, ‘२०७९ को चुनावको जनादेश अस्थिरताको जनादेश हो, कुनै पनि सरकारले पाँच वर्ष काम गर्न पाउने अवस्था छैन, त्यसको उदाहरण कोशी प्रदेशमै हेरे हुन्छ ।’

महासचिव पोखरेलले एमाले र नेपाली सेना नभएको भए यो मुलुक नै स्वाधीन नरहने दाबी समेत गरे । उनले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणबाट नेपालको हितमा कुनै पनि सम्झौता हुन नसकेकोले अहिलेको सरकार अत्यन्तै कमजोर सरकार भएको टिप्पणी गरे । उनले २०८४ को निर्वाचनबाट एमालेको नेतृत्वमा मुलुक बन्ने गरी जनादेश आउनुपर्ने र त्यसका लागि सबै कार्यकर्ताहरू पार्टी निर्माणमा खटिन आग्रह गरे ।

माओवादीकै कारण नेपालका मौलिक चाडपर्वहरू विघटनको अवस्थामा पुगेको आरोप लगाए । विगतमा माओवादीले नै पण्डितहरूमाथि हिंसात्मक व्यवहार गरेर त्यसको पाप पखाल्न प्रचण्डले अहिले भारतका मन्दिरहरूमा पुगेर १०८ वटा रुद्राक्षको माला चढाएको भन्दै व्यङ्ग गरे ।

पोखरेलले कोशी प्रदेशमा पनि मिलेर बसेको समाजलाई माओवादीकै माध्यमबाट विभाजित गर्ने प्रयास भइरहेको दाबी गरे । एमाले राष्ट्रिय स्वाधीनताको पक्षमा काम गर्ने पार्टी भएकोले माओवादीहरू मार्फत अहिले पनि एमालेविरुद्ध प्रहार भइरहेको बताए ।

कोशी प्रदेश नामकरणको सन्दर्भमा एमाले महासचिव पोखरेलले कोशी सभ्यताको विकासमा किराँत वा राई लिम्बुकै महत्वपूर्ण भूमिका रहेको जिकिर गरे ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा आयोजित चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली नै आउने भन्दै प्रचार गरिएको थियो । तर, अन्तिम समयमा अध्यक्ष ओलीको स्वास्थ्य समस्याको कारण देखाउँदै महासचिव पोखरेल चियापान कार्यक्रमको प्रमुख अतिथि बनेका थिए ।

कार्यक्रममा एमाले कोशी प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव रघुवीर महासेठ, पूर्वमुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की, एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फे, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा लगायतका नेताहरूले शुभकामना दिएका थिए ।


Author

थप समाचार
x