कोशी

धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडक स्तरोन्नति गरिँदै

इकागज |
फागुन ३, २०८० बिहीबार ८:५ बजे

खोटाङ- बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो । 

प्रदेश सरकार र गाउँपालिकाको ५०/५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशङ्खे-खाकरगैरा तथा चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम सुरु गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए । बराहपोखरी गाउँपालिका-२ सुन्तलेमा पर्ने दुवै सडकखण्डमा ग्याविन (तारजाली प्रयोग गरेर निर्माण गरिने पर्खाल), मेसिनरी वाल (सिमेन्ट, बालुवा र ढुङ्गा प्रयोग गरेर निर्माण गरिने पर्खाल), ड्रेन निर्माण, आरसिसी ढलान, ग्राभेल, माटो फिलिङलगायतका काम भइरहेको छ ।


धाप्लाङघाटदेखि बिचशङ्खे-खाकरगैरासम्मको सडक स्तरोन्नति गर्न ६२ प्रतिशत सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ । विसं २०८१ वैशाख मसान्तसम्ममा सक्नेगरी उक्त ठेकेदार कम्पनीले गत पुस ८ गते सडक स्तरोन्नतिको ठेक्का सम्झौता गरेको थियो ।

मूल्य अभिवृद्धि करसहित रु एक करोड ७२ लाख ४१ हजार २४४ मा कार्यदेश लिएको ठेकेदार कम्पनीले रनिङ बिलमार्फत गत माघ-१५ गते रु एक करोड छ लाख ९७ हजार ६२३ भुक्तानी लिइसकेको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिएका छन् ।

सो सडकखण्डमा दुई हजार पाँच सय आठ घनमिटर माटो कटिङ, ४३ दशमलव ३८ घनमिटर ब्रेकर, ३१३ दशमलव २३ घनमिटर ढुङ्गा सोलिङ, छ सय ८४ घनमिटर ग्याविन वाल, एक सय ६० मिटर ढलानलगायतका काम गर्ने सम्झौतामा उल्लेख छ । 

ढलानको काम भइरहेको यो सडकखण्ड यही फागुन मसान्तभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको स्थानीयस्तरमा निर्माणको जिम्मा लिएको सुन्तले कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि बराहपोखरीका प्रबन्ध निर्देशक कृष्णप्रसाद बञ्जराले जानकारी दिए ।

'ढलानको काम तीन दिनभित्रमा सम्पन्न हुन्छ । ग्राभेल ५४ घरटिरमात्र बाँकी छ । ६६४ दशमलव १५ घनटिर वालको काम गर्नपुर्नेमा ३० घनमिटर बाँकी छ । करिब ७० जना कामदार छन्', उनले भने, 'समग्रमा ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । फिनिसिङको काम सम्पन्न गरेर यही फागुन मसान्तभित्र फरफारक गर्ने योजनामा छौँ ।'

यस्तै, संघीय सरकारसँगको लागत साझेदारीमा सुरु गरिएको सोही सडकको चेकेथुमखण्ड स्तरोन्नतिको काम ९० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । मूल्य अभिवृद्धि करसहित रु ७७ लाख ११ हजार नौ सय ४० मा सक्नेगरी निर्माण कम्पनीले चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम लिएको हो । 

विसं २०८० वैशाख मसान्तसम्ममा सक्ने गरी गत मङ्सिर २२ गते ठेक्का सम्झौता गरिएको सडक फागुनभित्रै सम्पन्न गर्ने योजनामा रहेको ठेकेदार कम्पनीले जनाएको छ । निर्माणाधीन दुवै खण्डको सडक तोकिएको मितिमा सम्पन्न गर्न तथा गुणस्तर निर्धारणमा खबरदारी गर्ने काम भइरहेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक भूबलराज राईले बताएका छन् । 

धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडक स्तरोन्नतिको काम गरिएपनि सुनकोशीस्थित धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण सम्पन्न नहुँदा तराईसँगको सीधा यातायात सञ्चालन हुन सकेको छैन ।

खोटाङको बराहपोखरी गाउँपालिका-२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका-१४ साउने जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको काम रोकेर सात वर्षपछि डिजाइन (ढाँचा) परिवर्तन गरेर पुनःनिर्माण थालिएको छ । 

विसं २०७६ असार २९ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७३ असार ३० गते रसुवा-एसएनएस-पप्पु जेभी निर्माण कम्पनीले धाप्लाङघाट पुल निर्माणको जिम्मा लिएको थियो । वेल फाउन्डेसन प्रविधिको मोटरेबल पुल निर्माण सुरु गरिएको धाप्लाङघाटमा ढाँचा परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको हो ।

भ्याटबाहेक रु २२ करोड ५० लाखमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको पुलको दुईवटा पिलर तथा बीच भागमा एउटा वेलमात्र निर्माण गरिएको छ । ठेक्का सम्झौता भएको सात वर्षपछि ‘डिजाइन’ परिवर्तन गरिएको पुलको लम्बाइ दुई सय मिटर लामो छ । 

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरबाहीले तोकिएको समयमा मोटरेबल पक्की पुल नबन्दा दुई जिल्लाबीचको सिधा यातायात सञ्चालन हुन सकेको छैन । धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण नहुँदा सवारीसाधनमा करिब एक दिनको यात्रापछि गाईघाट पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

धाप्लाङघाटबाट उदयपुरको बेल्टार आधा घण्टा तथा गाईघाट डेढ घण्टामा पुग्ने गरिएको छ । लामो समयसम्म अलपत्र अवस्थामा रहेको धाप्लाङघाटको मोटरेबल पक्की पुल चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राईले जानकारी दिएका छन् । रासस


Author

थप समाचार
x