कोशी

६ मुहानबाट संकलन गरेर गाउँमा खानेपानी

इकागज |
फागुन ५, २०८० शनिबार ९:६ बजे

भोजपुर- भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेको छ । यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौंदेखिको पानीको समस्या हटेको हो । 

‘कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज्’ले अन्नपूर्ण बाख्राङ बाहुनगाउँ खानेपानी आयोजना निर्माण गरिदिएसँगै यहाँको पानीको समस्या अन्त्य भएको हो । खानेपानी आयोजनाको रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले हालै उद्घाटन गरे ।


आयोजना निर्माण गर्न रु दुई करोड १२ लाख खर्च भएको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । आयोजना निर्माणमा रु ५२ लाख ६३ हजार बराबर उपभोक्ताको श्रमदान रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चेवनराज राईले बताए ।  

६ वटा मुहानबाट संकलन गरेर बस्तीसम्म पानी ल्याइएको हो । आयोजनाको पाइप लाइन २६ हजार ९५ मिटर रहेको छ । यहाँ १५ संकलन ट्याङ्की र नौ वितरण ट्याङ्की निर्माण गरिएका छन् । गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले पालिकाको आन्तरिक स्रोत कम भएकाले अरुलाई सहयोगका लागि गुहार्नु परेको बताए ।

'स्थानीयले अब स्वच्छ खानेपानी उपभोग गर्न पाएका छन्', उपाध्यक्ष राईले भने । चालू आर्थिक वर्ष २०८०/८१ मा थप ८० परिवारको घरमा पानी  पुर्‍याउने लक्ष्य रहेको उनले बताए । कादुरी संस्थाका उप निर्देशक विजयन्त शेरचनले खानेपानीसँगै विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए । विसं २०७५ देखि आयोजना निर्माण थालिएको थियो । रासस


Author

थप समाचार
x