कोशी

वर्षाले घर भत्किँदा एकको मृत्यु, सडक अवरुद्ध, सतर्कता अपनाउन प्रशासनको आग्रह

इकागज |
असार १८, २०७८ शुक्रबार २२:९ बजे

खोटाङ : खोटाङमा तीन दिनदेखि लगातार परिरहेको वर्षाले मुण्डाघर भत्किँदा एक बालकको मृत्यु भएको छ । बाँस र माटोले बनेको पुरानो मुण्डाघर आज दिउँसो भत्किँदा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका रमेश सार्कीका छोरा १४ वर्षीय राजकुमारको घटनास्थलमै मृत्यु भएको हो । 

मान्छे बस्न छाडेको स्थानीय मनकुमार सार्कीको मुण्डाघरभित्र तीन बालक खेलिरहेको अवस्थामा उक्त मुण्डाघर भत्किएको स्थानीय बासिन्दाले बताएका छन् । मुण्डाघर भत्किँदा अन्य दुई बालकसमेत घाइते भएका छन् । घाइते हुनेमा स्थानीय राजकुमारी सार्कीको १० वर्षीय छोरा मिलन र मनकुमार सार्कीको १० वर्षकै छोरा लुने रहेका वडासदस्य खेमराज कार्कीले बताए । उनीहरू दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । 


मृत बालकको शव जिल्ला अस्पताल दिक्तेल ल्याएर परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सागर साहले जानकारी दिए ।  प्रहरीका अनुसार सोही नगरपालिकाको वडा नं ५ रातमाटेका दिनेश राईको घर भत्किँदा घरधनी राई गम्भीर घाइते भएका छन् । 

चौबीस वर्षीय घाइते राईको स्थानीय स्वास्थ्य संस्थामा उपचार नभएपछि थप उपचारका लागि राजधानी काठमाडौँस्थित सुविधायुक्त अस्पताल लैजाने तयारी भइरहेको आफन्तले जनाएका छन् । ढुङ्गामाटोले बनेको घर पूर्णरूपमा भत्किएपछि उनको परिवार ठुलोबुबा पिताम्बर राईको घरमा बसेको छ । 

दिनरात लगातार परिरहेको वर्षाले ठाउँ–ठाउँमा पहिरो झरेपछि जिल्लाका सबै ग्रीिमण सडक अवरुद्ध बनेका यातायात व्यवसायीले बताएका छन् । सडक अवरुद्ध भएपछि सबैभन्दा बढी उपचारका लागि स्वास्थ्य संस्था जाने कोभिड–१९ तथा भाइरल ज्वरोका बिरामी समस्यामा परेका छन् । 


Author

थप समाचार
x