कोशी

कोभिड– १९ अपडेट

प्रदेश १ मा मृत्यु हुनेको संख्या १८२ पुग्यो

लीलावल्लभ घिमिरे |
कात्तिक १९, २०७७ बुधबार १७:१ बजे

विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा बुधबार दुई जनाको मृत्यु भएको छ ।  इटहरी–६ की ९ वर्षे संक्रमित बालिकासहित दुई जनाको मृत्यु भएको हो । 

मंगलबार मात्र प्रदेश १ मा कोरोना संक्रमणका कारण एकैदिन दश जनाको मृत्यु भएको थियो ।  विराट मेडिकल कलेज बुढिगङ्गामा चार, न्युरो कोभिड अस्पतालमा दुई, नोबेल मेडिकल कलेजमा एक र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको हो । उता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको थियो । 


प्रदेश १ मा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या १८२ पुगेको छ । मृत्यु हुनेमा ५४ महिला, एक बालिका र १२७ जना पुरुष रहेका छन् । प्रदेशमा मंगलबारसम्म १९ हजार ६ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस मध्ये ६ हजार ९ सय ५८ महिला र १२ हजार ६ सय ६९ पुरुष रहेका छन् । 

हाल प्रदेश भर हाल होम आइसोलेसनमा ७ हजार ८ सय ३५ जना रहेका छन् । हाल सम्म ११ हजार ४ सय ५५ जना कोरोना मुक्त भइ सकेका छन् । मंगलबार मात्र ३ सय ६३ जना नयाँ कोरोना संक्रमित प्रदेश १ मा थपीएका छन् ।

प्रदेशका १४ वटै जिल्लामा कोरोना संक्रमित छन् । संखुवासभा, खोटाङ, भोजपुर, पाँचथर, ओखलढुंगा र सोलुखुम्बुमा भने अहिले सम्म कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । प्रदेश प्रयोगशाला, कोशी अस्पताल विराटनगर, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, न्युरो अस्पताल, धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ‘बी स्योर’  विराटनगर र मेची अस्पताल, कनकाइ पीसीआर प्रयोगशाला झापाले निययमित रुपमा पीसीआर परीक्षण गर्ने गरेका छन् ।


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x