मधेश

बागी उम्मेदवारलाई फापेको जनकपुर

सुभाष कर्ण |
जेठ १०, २०७९ मंगलबार २२:९ बजे

जनकपुरधाम - जनकपुर उपमहानगरपालिकाको नेतृत्व पुनः एक पटक बागी उम्मेदवारकै पोल्टामा गएको छ ।

जनकपुरको इतिहासमा स्थानीय निर्वाचन भएको चार पटकमा जनताले तीन पटक बागी उम्मेदवालाई मत हालेर जिताए भने एक पटक मात्रै दलका उम्मेदवारले जिते । 


गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र सहित ४१ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये १२ जना राजनीतिक दलबाट उम्मेदवार थिए भने एक जना बागी र दुई जना स्वतन्त्र उम्मेदवार थिए । पछि २ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

नगरप्रमुखमा सत्ता गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)ले भाग पाएको थियो ।  जसपाबाट निवर्तमान प्रमुख लालकिशोर साह, नेकपा एमालेबाट शिवशंकर साह हिरा, लोकतान्त्रिक समाजवादी पार्टीबाट मनोज चौधरी उम्मेदवार बनेका थिए भने जनमत पार्टीबाट अनितादेवी साह, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट विभा ठाकुर, नेपाल जनता पार्टीबाट मुरली मनोहर मिश्र, कांग्रेसका बागी उम्मेदवार मनोज साह, स्वतन्त्रतर्फ बलराम महतो, जानकीराम साहसहित ३९ जना थिए ।

जनकपुरले नेतृत्वका लागि यति ठूलो संख्यामा दलका उम्मेदवार हुँदाहुँदै स्वतन्त्र उम्मेदवारीका कारण फेरि आफ्नो पुरानो इतिहास दोहोर्‍याएको छ । जनकपुरमा दलहरुलाई पछार्दै फेरि बागी उम्मेदवारले इतिहास रचेका छन् । 

गत २०७४ को स्थानीय तह निर्वाचनमा पराजित भएका मनोजकुमार साहले कांग्रेस छाडेर बागी भइ स्वतन्त्र उम्मेदवारी दिएर प्रमुखमा आफ्नो जित निकाले । 

२०७४ को निर्वाचनमा यस उपमहानगरमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले मेयर र उपमेयरमा जित निकालेको थियो । राजपाबाट जितेका मेयर लालकिशोर साहले २१ हजार ९०३ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोजकुमार साहले ११ हजार १६४ मत ल्याएर पराजित भएका थिए ।

०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले निकालेको जितलाई अपवाद मान्ने हो भने जनकपुर उपमहानगरपालिकामा दलको उम्मेदवारभन्दा बागी/स्वतन्त्र उम्मेदवारलाई फापेको इतिहास छ ।

मधेस प्रदेसको राजधानी समेत रहेको जनकपुर उपमहानगरपालिका देशकै जेठो नगरपालिकामध्ये एक हो ।  तत्कालीन पञ्चायत सरकारले ०१७ जेठ १३ गतेदेखि लागू हुनेगरी जनकपुर नगरपालिका गठन गरेको थियो । त्यतिबेला मेयर बनाइँदैन थियो । श्यामसुन्दर शर्मालाई जनकपुर नगरपालिकाको पहिलो चेयर म्यान बनाइयो ।

त्यस यता ०४६ सालको आन्दोलनपछि प्रजातन्त्र पुनर्वहाली पछि जनकपुर पुनः आधिकारिक रूपमा नगरपालिका बन्यो । प्रजातन्त्र पुनर्वहाली भएपछि ०४९ सालमा पहिलोपटक जनकपुर नगरपालिकाको निर्वाचन भयो ।

०४९ सालको त्यो निर्वाचनमा जनकपुर नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसभित्र दिगम्बर राय र वृषेशचन्द्र लाल आकांक्षी थिए । दिगम्बर रायले मेयरको टिकट पार्टीबाट पाएपछि वृषेशचन्द्र लाल असन्तुष्ट भएर बागी उम्मेदवार हुँदै मेयरमा उम्मेदवारी दिए ।
 
उनीसँगै लालकिशोर साहले कांग्रेसकै बागी उम्मेदवारका रुपमा उपमेयरमा उम्मेदवारी दिए । त्यो वर्ष वृषेशचन्द्र मेयरमा र लालकिशोर साह उपमेयरमा निर्वाचित भए । 

प्रजातन्त्र पुनर्वहालीपछि वृषेशचन्द्र नै जनकपुर नगरपालिकाको मेयर बन्न सफल भए ।

५ वर्षपछि ०५४ सालमा फेरि स्थानीय तहको निर्वाचन भयो । त्यो निर्वाचनमा कांग्रेसबाट दामोदरप्रसाद उपाध्यायले टिकट पाए । सोही वर्ष बजरंगप्रसाद साह पनि जनकपुरको मेयरका लागि आकांक्षी थिए । बजरंगले कांग्रेसको बागी उम्मेदवारको रुपमा जनकपुर नगरपालिकाका लागि उम्मेदवारी दिए । त्यो निर्वाचनमा पञ्चायतकालमा दुईपटक प्रधानपञ्च रहिसकेका उपाध्यायलाई साहले पराजित गरी बजरंगले स्वतन्त्रबाट जित हात पारे ।

दुई दशकपछि ०७४ मा स्थानीय तह निर्वाचन फेरि भयो । नेपाल संघीयतामा प्रवेश गरिसकेपछिको त्यो पहिलो निर्वाचन थियो । तर त्यो निर्वाचनमा बागी वा स्वतन्त्र उम्मेदवारले नभई तत्कालीन राजपाका लालकिशोर साह नगरप्रमुखमा दलबाट निर्वाचित हुन सफल भए । 

०४९ साल , ०५४ साल र ०७९ सालमा जनकपुर नगरपालिकामा कांग्रेसको बागी उम्मेदवारहरु जिते पनि उनीहरु पछाडिको शक्ति राजनीतिक दल नै रहेको राजनीतिक विश्लेषक रोशन जनकपुरीले बताए ।

कांग्रेसका बागी उम्मेद्वार जितेपनि उनको पछाडि राजनितिक र जातीय शक्तिकै ठुलो सहयोग रहेको बताउँदै उनले बाध्यात्मक परिस्थितिले बागी बनेको हो भने ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x