मधेश

वीरगञ्ज प्याब्सनले लकडाउनभरि शुल्क नलिने

माधुरी महतो |
कात्तिक २६, २०७७ बुधबार १९:२७ बजे

वीरगञ्ज : निजी विद्यालयको छाता संगठन प्याब्सन पर्साले लकडाउन अवधिमा विद्यालय सञ्चालन नभएको शुल्क नलिने निर्णय गरेको छ ।

प्याब्सन पर्साले लकडाउनपछि असोज १ गतेदेखि विद्यालय सञ्चालन भएको हुनाले सोही अवधिदेखिको मात्र शुल्क लिने निर्णय भएको प्याब्सन पर्साका सचिव छेडुप लामाले जानकारी दिए । 


लामो समयदेखि विद्यालय बन्द हुँदा शिक्षकको तलब, घरभाडा, बिजुली बत्तीलगायतका शुल्क मिन्हा नभएको हुँदा विद्यार्थीहरूसँग मासिक शुल्क लिने/नलिने विषयमा प्याब्सन पर्सासँग आबद्ध विद्यालयबीच नै मतभेद थियो ।

तर प्याब्सनसँग आबद्ध केही विद्यालयले अनलाइन शिक्षाको शुल्क माग गरेकोमा अभिभावक र विद्यालयबीच आपसी समझदारीमा उक्त विषय समाधान गर्न बैठकले सुझाव दिएको जनाएको छ । 

यसअघि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले लकडाउन अवधिभरको शुल्क नलिन निजी विद्यालय सञ्चालकलाई आग्रह गरेका थिए ।

कोभिड-१९ को माहामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय र पढ्न नपाएका बालबालिका दुवै प्रभावित भएको भन्दै उनले विद्यार्थीका अभिभावकहरुलाई तनाब सिर्जना हुने गरी शुल्क नलिन आग्रह गरेका थिए । 
 


Author

थप समाचार
x