मधेश

पुस १५ गते मधेस प्रदेश सांसदको शपथ ग्रहण

सुभाष कर्ण |
पुस ११, २०७९ सोमबार १५:५२ बजे

जनकपुरधाम- मधेस प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूकाे पुस १५ गते पद तथा गोपनीयताको शपथ ग्रहण हुने भएको छ ।

सोमबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकबाट पुस १५ गते २ बजे शपथ ग्रहणका लागि समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले जनाएका छन् ।


नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानुन बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयका सचिव यादले जानकारी दिएका छन् ।

उनले भने, 'शपथ ग्रहणका लागि दुई घण्टा अगावै निर्वाचित प्रदेशसभा सदस्यहरू राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थिति हुन सचिवालयले अनुरोध गरिएको छ भने आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले तीन दिन अगावै प्रदेशसभा सचिवालयमा जानकारी गराउनु पर्नेछ ।'

सो बैठक नेपाली कांग्रेसबाट शेषनारायण यादव, विरेन्द्र सिंह, नेकपा एमालेबाट रत्नेश्वर गोइत, राजकुमार लेखी, जसपाबाट सरोजकुमार यादव, रामआशिष यादव, माओवादीबाट युवराज भट्टराई, नेकपा एसबाट बेची लुङ्गेली लगायतका मधेश प्रदेशमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x