मधेश

छठको दोस्रो दिन 'खरना' मनाइयो

सुभाष कर्ण |
मंसिर ४, २०७७ बिहीबार १९:२९ बजे

जनकपुरधाम : तराइमा हर्षोल्लासका मनाइने छठको दोस्रो दिन बिहीबार खरना विधि सम्पन्‍न गरिएको छ । व्रतालुहरुले दिनभरि निराहार उपवास बसी साँझ पख सक्खर (गुड), दुध र चामल मिश्रित खीर, मुला, फलफूलसहितका परिकारले कुलदेवता र पुर्वजलाई नैवेद्य चढाई खरना मनाएका छन्।
 
खरनामा व्रतालुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा खीर बनाउने प्रचलन छ । सो खीर, पानको पात, सुपारी, मुलालगायतको प्रसाद केराको पातमा घरको कोठामा माटोले लिपपोत गरी कुल देवता र पुर्वजलाई चढाउने परम्परा छ । छठका दिन भगवान सूर्यलाई जतिवटा अर्घ दान गरिन्छ, खरनामा त्यतिकै संख्यामा नैवेद्य चढाउने गरिन्छ । नैवेद्य कुलदेवता र पुर्वजलाई चढाउँदा छठीमातालाई स्मरण गरिन्छ । खरना विधि सम्पन्‍न पश्‍चात व्रतालुहले दिनभरिको उपवास नैवेद्यले तोडेका छन् । 

छठमा यसअघि बुधवार नहाय खाय विधि सम्पन्‍न गरिएको थियो । भोली षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई र सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ दान दिइ पारण गरेपछि छठ सम्पन्‍न हुन्छ । 


कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा जनकपुरधामस्थित पोखरी, तलाउ र सरोवरका डिललाई सरसफाई गरी कपडाको पण्डालले छाउनी बनाएर झकिझकाउ बनाइएको छ । मिथिलाञ्‍चलमा मनाइने छठ पछिल्ला वर्षहरूमा राजधानी काठमाडौंसहित पहाड तथा हिमाली क्षेत्रमा समेत मनाउन थालिएको छ । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x