मधेश

मिटरब्याज सम्बन्धी ऐन आतंकले मधेशमा आर्थिक मन्दी : मन्त्री यादव

इकागज |
असोज २८, २०८० आइतबार २२:३ बजे

जनकपुरधाम - मधेश प्रदेश सरकारका अर्थमन्त्री संजय यादवले संघीय सरकारले ल्याएको मिटरब्याजी सम्बन्धी ऐनको आतंकतले प्रदेशमा आर्थिक मन्दी आएको बताएका छन् । 

आइतबार दशैंको अवसरमा आयोजित सस्तो बजारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री यादवले संघीय सरकारले बिना कुनै तयारीको मिटरब्याजी पिडीतलाई व्यवस्थापन गर्न ल्याएको ऐनको आतंकले साहु महाजनले बिना धितो ऋण दिन बन्द गर्दा आर्थिक मन्दी छाएको बताएका हुन् । 


उनले भने, 'संघीय सरकारले बैंकबाट सहुलियत तथा सहज रुपमा बैँक ऋणको व्यवस्था नगरी राजनीतिक स्टण्ट गर्दै रातारात ल्याएको ऐनले गर्दा साहु महाजन स साना उद्योगी व्यवसायीले गाउँघरमा विवाह, व्रतबन्ध, पढाइ र उपचारमा ऋण नदिँदा ती रकम उनीहरूको घरमै थन्किँदा बजार चलायमान नभइ आर्थिक मन्दीको अवस्था आएको हो ।' 

मन्त्री यादवले आर्थिक मन्दीको मारमा परेका व्यवसायी तथा व्यापारीलाई प्रोत्साहनका लागि योजनाहरु ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले ठूलठूला कलकारखाना तथा उद्योगहरू खोल्नका लागि समेत मधेश प्रदेश सरकारले योजना ल्याएको बताउँदै छिट्टै नै मधेश प्रदेशमा कार्य योजनासहित अघि बढ्ने बताए । 
 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बजार अनुगमनलाई तीव्रता दिँदै सस्तो दरमा उपभोक्तालाई सामान उपलब्ध गराउने जनकपुरधाम नगरपालिकालाई आग्रह गरे । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले बजार अनुगमनका लागि समिति बनाउने तयारीमा उपमहानगरपालिका रहेको जानकारी गराउँदै चाँडै अनुगमन थालिने बताए । 

कार्यक्रमको अध्यक्षता गरेका जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले कृषि बजारका लागि सहयोग गर्न मन्त्री यादवसँग आग्रह गर्दै बजार चलायमान गर्न प्रदेशका निर्माण व्यवसायीहरूको बक्यौता रहेको रकम तत्काल उपलब्ध गराउन माग गरे । 

उनले घरेलु उत्पादनका खाद्यान्नलगायतका सामग्रीहरूलाई प्राथमिकता दिई बिक्री वितरण गर्ने योजना रहेको समेत बताए ।

दशैँको अवसरमा प्रत्येक वर्ष झैँ यस पालि पनि जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सस्तो बजार लागेको छ । जनकपुरधामको रामचोकस्थित गोपाल धर्मशालामा सस्तो बजार १० दिनका लगि सुरु भएको हो । सस्तो बजारमा कुल १ सय १५ वटा स्टलहरु रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । घरेलु सामग्रीको बिक्री वितरण भएमा उत्पादन बढ्नुका साथै उपोक्ताका लागि सस्तो तथा सर्वसुलभ समेत हुने उनको भनाइ थियो ।

बजारमा खाद्यान्न, दैनिक उपभोग्यका सामग्रीहरु, साबुन, सरफ, अगरबत्ति, प्लाष्टिकका भाँडाकुँडाहरु, लत्ता कपडाहरू, जुत्ता चप्पल लगायत विभिन्न उपभोग्य सामग्रीहरु राखिएको छ ।


Author

थप समाचार
x