मधेश

मेयरको प्रतिबद्धतापछि १०औं दिन कटहरिया नगरपालिकाको ताला खुल्यो

इकागज |
माघ २, २०८० मंगलबार २१:३ बजे

रौतहट- रौतहटको कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवालले सम्पूर्ण माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि मंगलबार १०औं दिन नगरपालिकाको ताला खोलिएको छ । मेयर जैसवालको सम्बोधनपछि आन्दोलनरत पक्षले सर्वसहमतिले नगरपालिकाको ताला खुलाएका हुन् ।

मेयर जैसवाल माथि करोडौं भ्रष्टाचारको आरोप लगाउँदै गत पुस २३ गते कटहरिया नगरपालिकामा तालाबन्दी गरेर उपमेयर नेतृत्वमा जनप्रतिनिधिहरू खबरदारीमा बसेका थिए ।​


आन्दोलनरत जनप्रतिनिधिलाई अगाडि राखेर मेयर जैसवालले आगामी १६ गते हुने नगर कार्यपालिका बोर्डको बैठकबाट हरसम्भव माग पूरा गराउने प्रतिबद्धता जनाएपछि दुई पक्षीय सहमति भएको थियो ।​

उपमेयर रिता देवी यादव, वडा २ का अध्यक्ष भूपेन्द्र कुशवाहा, ४ का अध्यक्ष चन्दन कुशवाहा, ५ का अध्यक्ष सर्फलाल गुप्ता, ७ का अध्यक्ष सहिद मियाँ, कांग्रेस नगर सभापति शम्भु यादव, कार्यपालिका सदस्य जामुन ठाकुर, पूर्व वडाध्यक्ष उमेश यादव, बाल्मीकी यादव, वडा प्रत्याशी हरेन्द्र यादव लगायत दर्जनौँ नेता कार्यकर्ता ८ बुँदे मागसहित नगरपालिकामा गत पुस २३ गते तालाबन्दी गरेका थिए ।

मेयरको सम्बोधनपछि उपमेयर रिता देवी यादव, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा ,५ का अध्यक्ष सर्फलाल गुप्ताले जनताको हकहितमा गरिएको माग मेयर जैसवालले पूरा गर्नेमा विश्वस्त रहेको बताएका थिए । माग पूरा नभएमा अबको आन्दोलन थप कडा हुने उनीहरूले संयुक्त रूपमा चेतावनी दिएका थिए ।

आन्दोलनरत पक्षको ८ बुँदे माग 

नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत् महसुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगतदेखि खट्दै आएको कर्मचारी, डोर, करार, सफाइकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने न राख्ने बारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्ताव माथि नगर कार्यपालिका बोर्डको बैठकबाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै विगतमा नगरक्षेत्र भित्र हैन्डपाईप जडानमा छुट्याइएको रकमको लेखाजोखा बोर्डलाई जानकारी दिनुपर्ने, विद्युत् पोल खरिदको लागि छुट्याइएको १ करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जम्मा गराई सम्झौता गर्नुपर्ने, आर्थिक वर्ष २०७९/८० मा केन्द्र, प्रदेश सरकार तथा अन्य निकाय संघ संस्थाबाट आएको योजनाको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने र नगरपालिकामा कार्यरत स्थायी, करार, डोरको संख्या, नाम ठेगानासहित, उनीहरूको तलबमानको विवरण, तथा भुक्तानी बारे लिखित जानकारी गराउन माग गरिएको छ ।

के थियो तालाबन्दीको कारण 

यसअघि गत १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा ८ बुँदे मागबारे जानकारी माग्दा मेयर जैसवालले गत २३ गते सोमबार हुने कार्यपालिका बोर्डको बैठकमा सम्पूर्ण विवरण पेस गर्ने बताएका थिए । २३ गते भनिएको बैठकमा सहभागी हुन आउँदा मेयर जैसवाल, प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंहसहित अनुपस्थित रहेको र मेयरको मानिस हिउँदे अधिवेशनका लागि कार्यपालिका सदस्यहरूको घरघरमा निर्णय पुस्तिका लागेर हस्ताक्षर गराउन सुरु गरेकाले आफूहरू तालाबन्दी गर्न बाध्य भएको वडा ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताएका थिए ।

एकातर्फ विभिन्न शीर्षकमा करोडौं रुपैयाँ निकासा गरेर अनियमितता गरेका मेयर अजयप्रकाश जैसवालले हिउँदे अधिवेशन सकेर पुनः रकम निकासा गराउने दाउमा देखिएकाले बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको जनप्रतिनिधिहरूले बताउँदै आएका छन् ।

मासिक १० लाखभन्दा बढीको डिजेल, पेट्रोल खर्च, नगरको स्थायी कर्मचारीको मासिक करिब १० लाख तलब आउने स्थानमा करार देखाएर मासिक ३५ लाख तलबको नाउँमा मेयर जैसवालले लीने गरेको उनीहरूले दाबी गरेका छन् ।  

उपमेयर रिता देवी यादवको नेतृत्वमा नगरपालिका अगाडि खबरदारी गरिरहेकै समय गत आइतबार मेयर अजयप्रकाश जैसवाल आफ्नो घरमै हिउँदे अधिवेशन गरेको घोषणा गरेका थिए ।


Author

थप समाचार
x