मधेश

अयोध्या राम मन्दिरमा प्राणप्रतिष्ठाको दिन रौतहट, बारा, पर्सामा मासु, मदिरामाथि प्रतिबन्ध

इकागज |
माघ ४, २०८० बिहीबार १६:४६ बजे

रौतहट- भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निगरानीमा जनवरी २२ अर्थात यही माघ ८ गते अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदैछ ।

राम मन्दिरमा हुन लागेको प्राण प्रतिष्ठा भारत र नेपालको लागी मात्र नभइ पूरै संसारका लागि चासोको विषय बनेको छ । राम मन्दिर निर्माण तथा प्राण प्रतिष्ठाको लागि भारतका ठूला उद्योगी व्यापारी घरानादेखि बलिउडका ठूला कलाकारहरूले स्वेच्छाले करोडौं चन्दा दिएका छन् ।


त्यति मात्र नभइ भारतका ठूला ठूला सेलिब्रिटीहरू अहिले अयोध्या केन्द्रित भएकाले संसारमै चर्चा र चासोको विषय बनेको छ । अहिले भारतका अधिकांश राष्ट्रिय मिडियाहरू पनि अयोध्या केन्द्रित भएकाले सिंगो भारत राममय बनेको छ ।

पछिल्लो एक सातादेखि भारतीय मिडिया र सामाजिक सञ्जाल रामको भजनले भरिभराउ छ । भारत र नेपाल बीच सदियौं देखि चलेको रोटी बेटीको सम्बन्धको प्रभाव पनि त्यतिकै परेको देखिन्छ । धार्मिक आस्था र विश्वासले मिडिया र सामाजिक सञ्जालको प्रभाव मधेश प्रदेशमा पनि उतिकै परेको छ ।

अयोध्यामा हुने प्राण प्रतिष्ठाको दिन प्रदेशको गाउँ गाउँमा विभिन्न प्रकारको यज्ञको तयारी सुरु भएको छ । साधु सन्त, जनप्रतिनिधि, गाउँका अगुवा, संघ संस्था लगायतको अगुवाइमा कतै हनुमान आराधना , हनुमान चालिसा पाठ, रामधुन लगायत उक्त दिन धार्मिक अनुष्ठानको तयारी सुरु भएको गौर नगरपालिकाका मेयर शम्भु साहले बताएका छन् । भगवान रामको ससुराली पनि जनकपुर भएकाले हामी माता सीताको माइती पक्ष भएका कारण अयोध्यामा राम मन्दिरमा हुने प्राणप्रतिष्ठाको दिन हामीले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने उनीहरूको तर्क रहेको छ ।

जनवरी २२ त्यही दिन अर्थात माघ ८ गते वीरगञ्जमा पनि रामजानकी मन्दिरमा प्राणप्रतिष्ठाको तयारी गरिएको छ । मन्दिर पुनर्निर्माण भइरहेको छ । नवनिर्मित रामजानकी मन्दिर वीरगञ्जमा हिन्दू धर्ममा आस्था राख्नेको मात्र नभएर सबैको साझा धरोहर बनाउने काममा वीरगञ्ज महानगरको नेतृत्वमा आएका नगर प्रमुख राजेशमान सिंहले अगुवाइमा भइरहेको छ ।

उक्त दिन महानगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्री वितरणलगायत कार्य नगर्न महानगरले अनुरोध गरेको छ । अटेर गरी त्यस्ता कार्य गरेको पाइएमा नियमानुसार कारबाही गर्ने समेत महानगरको चेतावनी छ ।

उक्त दिन वीरगञ्ज महानगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्रीवितरणलगायतका कार्यहरू नगरिदिन सूचना मार्फत सबै सरोकारवाला लाई अनुरोध गरिएको छ ।

त्यसैगरी रौतहटको सदरमुकाम गौर, बाराको सदरमुकाम कलैयासहित कैयौं नगरपालिकाले छुटाछुटै सूचना जारी गर्दै जनवरी २२ अर्थात माघ ८ गते सोमबारका दिन आ-आफ्नो नगर क्षेत्रभित्र विभिन्न देवीदेवताको प्राणप्रतिष्ठा, पूजा हुने भएकाले जीवजन्तु हत्या, मासु, माछा, मदिरा बिक्रीवितरणमाथि रोक लगाएको छ ।


Author

थप समाचार
x